कोहलपुर, बाँके । पूर्व अर्थमन्त्री, पूर्व अर्थसचिव तथा वाणिज्य विज्ञ शंकरप्रसाद कोइराला (एसपी कोइराला) द्वारा लिखित गीतसंग्रह ‘आधा जिन्दगी’ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरलाई हस्तान्तरण गरिएको छ। सिटिजन्स बैंक कोहलपुर शाखाको कर्जा विभागमा कार्यरत मुगु निवासी सुदीपकुमार मल्लले उक्त पुस्तक ज्ञानोदय सामुदायिक पुस्तकालयलाई हस्तान्तरण गरेका हुन्। पुस्तक हस्तान्तरण कार्यक्रममा पुस्तकालयका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

साहित्यिक तथा सिर्जनात्मक कृतिहरूलाई स्थानीय पुस्तकालयसम्म पुर्याउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको मल्लले बताए। पुस्तक प्राप्त भएपछि ज्ञानोदय सामुदायिक पुस्तकालयले लेखक कोइरालालाई साहित्यिक योगदानका लागि बधाई तथा पुस्तक हस्तान्तरण गर्ने मल्लप्रति धन्यवाद व्यक्त गरेको छ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष एकराज शर्माले पुस्तकालयमा नयाँ तथा उपयोगी साहित्यिक कृतिहरू थपिँदा पाठकहरूलाई अध्ययनमा थप सहज हुने बताए। उनले पुस्तकालयको विकास र पठन संस्कृतिको विस्तारका लागि पुस्तक दान तथा हस्तान्तरण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। पुस्तक हस्तान्तरण कार्यमा कार्यसमितिका सह सचिव ईश्वर शर्मा, सदस्यहरु मिना विसि, विरेन्द्र कुमार शाही लगायत पुस्तकालयका कर्मचारीहरुको समेतको उपस्थिति रहेको थियो ।
कोइरालाको ‘आधा जिन्दगी’ गीतसंग्रहमा जीवन, अनुभूति, समय र सामाजिक परिवेशसँग सम्बन्धित सिर्जनाहरू समेटिएका छन्। कोइराला साहित्यिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनका अन्य प्रकाशित कृतिहरूमा टाँकीको घाँस, धड्कनभित्र, निर्वस्त्र नगरीमा तथा Songs of Swallows लगायत रहेका छन्।

यसैबीच, सुदीपकुमार मल्लले ‘आधा जिन्दगी’ पुस्तक महेन्द्र पुस्तकालय, नेपालगन्जलाई समेत हस्तान्तरण गरेका छन्। उनले महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष वलराम यादव लगायतका पदाधिकारी लाई पुस्तक हस्तान्तरण गरेका थिए । यसबाट बाँकेका दुई महत्वपूर्ण पुस्तकालयमा कोइरालाको कृति पाठकका लागि उपलब्ध हुने भएको छ। ज्ञानोदय पुस्तकालयले पुस्तकालयलाई ज्ञान, साहित्य र अध्ययनको केन्द्रका रूपमा थप विकसित गर्न सबै लेखक, साहित्यकार, पाठक तथा पुस्तकप्रेमीलाई पुस्तक हस्तान्तरण तथा सहयोग अभियानमा जोडिन आग्रह गरेको छ। “पुस्तकालयमा एउटा पुस्तक थपिनु भनेको ज्ञानको एउटा नयाँ ढोका खुल्नु हो,” भन्दै पुस्तकालय परिवारले लेखक कोइराला र पुस्तक हस्तान्तरणकर्ता मल्लप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्