काठमाडौं । सुनसरीमा साम्प्रदायिक तनाव उत्कर्षमा पुगेका बेला सत्तारुढ दल रवि लामिछानेले संवाद र समन्वयको पहल अघि बढाए ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘सिन’मै नदेखिएका बेला पार्टी सभापतिले लिएको पहलकदमीको निकै प्रशंसा भयो । यही क्रममा लामिछानेले हिन्दू र मुस्लिम धर्मका अगूवाहरुलाई सँगै राखेर वार्ता गरेका थिए ।
उक्त वार्ता ‘फलदायी’ भएपछि दुवैतर्फका अगूवाहरुले हात मिलाएर सौहार्दता प्रदर्शन गरेको तस्विर सार्वजनिक भयो ।
वार्तापछि हिन्दू र मुस्लिम समुदायका तर्फबाट भन्दै संयुक्त अपिल जारी गरियो । यसले तनावको माहोलमा निकै सकारात्मक तरंग फैलिएको थियो ।
तर उक्त संवादलाई लिएर एउटा नयाँ रहस्योद्घाटन भएको छ । संवादमा संलग्न दुईजना ‘हिन्दु अगूवा’मध्ये एकजना रास्वपाकै नेता रहेको खुलेको छ । उनी हुन् राजुराज फुँयाल ।
फुयाँल हालै चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर पराजित भएका थिए । त्यसअघि उनी रास्वपाको स्टार्टअप विभागमा थिए ।
फुयाँल विभाजित विश्वहिन्दू महासंघमा पनि आवद्ध छन् । महासंघको सचिवालय सदस्यको हैसियतमा आफू वार्तामा बसेको बताए ।
‘परिस्थिति एकदमै जटिल थियो । त्यसैले महासंघका तर्फबाट महासचिव रामचन्द्र तिवारी र म वार्तामा गयौं । वार्ता सफल भएपछि चितवनमा आह्वान भएको बन्द फिर्ता लिइएको हो,’ उनले भने ।
विश्व हिन्दू महासंघ अहिले अनेक चोइटामा विभाजित छन् । त्यसमध्ये नेपाली कांग्रेसनिकट एउटा चोइटोको नेतृत्व रामचन्द्र अधिकारले छन् । यसको तर्फबाट महासचिव तिवारी वार्तामा बसेका हुन् । छोटो समयमा वार्तामा बस्ने टुंगो लागेकाले अध्यक्ष जान नभ्याएको फुयाँलको भनाइ छ ।
आफू रास्वपामा पहिल्यैदेखि आवद्ध रहेको उनले स्वीकारे । रास्वपालाई आध्यात्मसँग जोड्ने उद्देश्यले नै आफू यसमा जोडिएको तिवारीको भनाइ छ ।
रास्वपामा आफ्नो आवद्धताबारे उनी यसो भन्छन्, ‘म रास्वपाको अहिले साधारण सदस्य मात्रै हुँ । राजनीतिक हिसाबले भन्दा पनि मेरो पार्टीसँग आध्यात्मिक कनेक्सन हो । महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेको थिएँ तर हारेँ । रास्वपामा पनि मेरो मुख्य एजेण्डा सनातनी नै हो । मैले पार्टी सभापतिसमक्ष वैज्ञानिक आध्यात्मिक विश्वविद्यालयको प्रस्ताव राखेको छु । म हिन्दूभन्दा पनि ‘सनातनी’को पक्षपाती हुँ ।’
गृहमन्त्रीलाई मागपत्र बुझाउने पनि रास्वपाका स्थानीय नेता
धनुषामा हिजो गृहमन्त्री सुधन गुरुङलाई संयुक्त हिन्दू मोर्चाका नाममा एउटा मागपत्र बुझाइयो । उक्त मागपत्रमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेदेखि असिम साहलाई प्रधानमन्त्रीको सल्लाहकारबाट हटाउनेसम्मका माग छन् । यसरी मागपत्र प्रस्तुत गर्ने मुख्य व्यक्ति पनि रास्वपाका स्थानीय नेता भएको खुलेको छ ।
उनी हुन् जनकपुर उपमहानगरपालिका वडा ८ का रास्वपा वडासभापति शनी भगत । उनले पहिलो नम्बरमा नै हस्ताक्षर गरेका छन् ।
गृहमन्त्रीलाई मागपत्र थमाउने पनि उनै थिए । भगत वार्तामा बस्न भने पाएनन् । उनले हिन्दु सम्राट सेनाको प्रतिनिधि भनेर मागपत्रमा हस्ताक्षर गरेका थिए ।
तर उनी हिन्दु सम्राट सेना नेपालको क्रियाशिल सदस्य नरहेको बुझिएको छ । त्यसैले उनलाई सम्राटले वार्ता गर्न पनि नपठाएको एक सदस्यलेलाई बताए ।
नेपाल प्रेसबाट साभार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्