बाँकेमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम स्वीकृत भई कार्यन्वयनमा

तीन पालिकाले योजना नै छनौट गरी पठाएनन्

काेहलपुर ।

बाँकेमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम शुरु भएको छ । विगत तीन आ.ब.मा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरेको लुम्बिनी प्रदेश सरकारले चालु आ.ब.मा सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर सुधार तथा स्तरवृद्धिका लागि शिक्षा क्षेत्रमा मात्र कार्यक्रम लागु गर्ने उद्धेश्यले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७८ बनाई लुम्विनी प्रदेश भरी सो कार्यक्रम लागु गरेको छ । विगत तीन आ.ब.को कार्यक्रम भन्दा नयाँ कार्यविधि बनाई संरचनागत रुपमा नै फरक कार्यक्रम लागु गर्न लागेकोले कार्यक्रम सञ्चालनमा केही ढिला गरी कार्यक्रम शुरु भएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका समन्वयकर्ता भीम रावतले बताएका छन् ।

प्रदेश सरकारले आ.ब.२०७८⁄०७९ का लागि बाँकेमा उपमहानगरपालिकालाई रु ८० लाख , नगरपालिकालाई रु ७० लाख र गाउँपालिकामा रु ६० लाखका दरले वित्तिय सामान्यीकरण शिर्षकमा रकम विनियोजन गरिसकेको थियो । कार्यविधिको नयाँ संरचना अनुसार पालिका स्तरमा पालिका प्रमुखको संयोकत्वमा रहेको पाँच सदस्यीय योजना छनौट तथा कार्यान्वयन समितिले पूर्णता गत माघ दोश्रो तथा तेश्रो सातामा मात्र पाएकोले योजना छनौटमा केही बिलम्ब भएको समन्वयकर्ता रावतले जानकारी गराए ।

२०७८ माघ मसान्त सम्म योजना छनौट समितिको बैठक बसी यथाशिघ्र जिल्ला समन्वयकर्ता मार्फत योजना छनौट गरी पठाउनु भनी पालिकाहरुमा पत्राचार भएको र केही पालिकाहरुले समय मै र केही पालिकाहरुले ढिलो गरी योजना छनौट गरी पठाएका थिए । पालिकाहरुले छनौट गरी जिल्ला अनुगमन समितिमा प्राप्त भएका योजनाहरु जिल्ला अनुगमन समितिले आफ्नो राय सहित ती योजनाहरु स्वीकृतीका लागि निर्देशक समितिमा पठाएको र निर्देशक समितिबाट स्वीकृत भै कार्यन्वयनका लागि पालिकामै पठाइसकिएको र पालिकाहरुले कार्यान्वयनको प्रक्रिया अनुसार सञ्चालन गरिरहेको छ ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका ८ पालिकाहरु मध्य पाँच पालिकाहरुमा कार्यन्वयन भैरहहेको छ । यसरी कार्यक्रम शुरु भएका पालिकाहरु नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिका रहेका छन् ।

राप्तीसोनारी र डुडुवा गाउँपालिकाहरुले धेरै पटक सम्पर्क र समन्वय गर्दा पनि हालसम्म योजना छनौट गरी नपठाएका र नरैनापुर गाउँपालिकाले योजना छनौटको प्रक्रिया नपुर्याई पठाएको र प्रक्रिया पुर्याएर पठाउन ताकेता गर्दा समेत नपठाएकाले ती तीन पालिकाहरुमा यस आ.ब. को मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु हुन नसकेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम जिल्ला अनुगमन समितिका बाँकेका संयोजक अजय श्रीवास्तवले बताएका छन् ।