सामग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालय बीच सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सरकार बीच मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका लागि आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्ने सम्बन्धी सम्झौता एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट माननीय मन्त्री घनश्याम भण्डारी र सचिव धोलकराज ढकालज्यू तथा विश्वविद्यालयतर्फबाट उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमज्यू, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल, डिन सह-प्रा. डा. राजन सुवालज्यूले हस्ताक्षर गरेका छ्न ।
सम्झौता बमोजिम सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ४ करोड बजेट मध्यपश्चिम विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङमा आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्न विनियोजित गरीसकेको छ भने सम्झौताको मुख्य उद्देश्य इञ्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुको व्यवहारिक सिकाई, अनुसन्धान र परिक्षण क्षमता अभिवृद्धि गर्न आवश्यक उपकरण तथा सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्नु रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यूले विश्वविद्यालयले सबै नियम, कानुन र सम्झौता अनुसार पारदर्शी र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्णाली प्रदेश सरकार, माननीय मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरूलाई सहकार्यका लागि धन्यवाद ज्ञापन गरेका थिए । उनले यो सहकार्यले विश्वविद्यालयलाई अझ सक्षम, अनुसन्धानमैत्री र प्राविधिक रूपमा सबल संस्थाका रूपमा अघि बढाउने र कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा माननीय मन्त्री घनश्याम भण्डारीज्यूले विश्वविद्यालयले प्रवाह गरिरहेका सेवा तथा विशेषगरी सिभिल इन्जिनियरिङ, निर्माण तथा पूर्वाधार विकासका क्षेत्रमा गर्दै आएको कार्य र योगदानको प्रशंसा गरेका थिए । उनले जाजरकोट भूकम्प तथा पुल मूल्याङ्कनजस्ता महत्वपूर्ण कार्यमा विश्वविद्यालयले देखाएको प्राविधिक दक्षता उल्लेखनीय रहेको बताउँदै आधुनिक ल्याब स्थापनाले नयाँ आयाम थप्ने र आगामी दिनमा मन्त्रालय र विश्वविद्यालयबीच थप सहकार्यको सम्भावना समेत रहेको धारणा व्यक्त गरे ।

त्यसै गरी ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका डिन सह-प्रा. डा. राजन सुवालज्यूले ग्रयाजुएट स्कुल अफ इञ्जिनियरिङ्गमा आधारभूत प्रयोगशाला सामग्रीदेखि लिएर अनुसन्धानका उपकरण र परीक्षण प्रविधिसम्म उपलब्ध गराउन यो सहयोग अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्रालयप्रति आभार व्यक्त गरे ।
मन्त्रालयका सचिव धोलकराज ढकालज्यूले प्रदेश सरकारले विश्वविद्यालयसँग गरेको सहकार्य ऐतिहासिक भएको उल्लेख गर्दै विनियोजित बजेट, खरिद प्रक्रिया तथा सम्झौताका कानुनी प्रावधानबारे जानकारी प्रस्तुत गरे । उनले ४ करोडको बजेट विनियोजन विश्वविद्यालय मार्फत प्रभावकारी रूपमा कार्यान्वयन हुने र सोका लागि मन्त्रालयका तर्फबाट आवश्यक समन्वयकारी भूमिका सदैव सकारात्मक रहने उल्लेख गरे ।
सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका तर्फबाट बिभिन्न निर्देशानलयका कार्यकारी निर्देशकज्यूहरु, विभागीय प्रमुखज्यू, उपकुलपति सचिवालयका सदस्य, रजिस्ट्रार सचिवालयका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । मन्त्रालयका तर्फबाट शैक्षिक विकास महाशाखा प्रमुख, माननीय मन्त्रीज्यूका सचिवालय सदस्य लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन प्रशासन तथा योजना महाशाखा प्रमुख एवं उपसचिव देवी प्रसाद पौड्यालले गरेका थिए ।
सम्झौतासँगै विश्वविद्यालय र प्रदेश सरकारबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छ भने आगामी दिनमा अत्याधुनिक उपकरणयुक्त प्रयोगशालाको स्थापना भई क्याम्पसको शिक्षण, सिकाइ, अनुसन्धान तथा परीक्षण क्षमतामा गुणात्मक सुधार हुने र समग्र कर्णाली प्रदेशको भौतिक विकास निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्