Kohalpur Today Header Ads

विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता




हुम्ला। ताँजाकोट गाउँपालिका–१ को बौल्याना बस्तीमा सडक निर्माणका क्रममा डोजर चलाइएपछि खानेपानीको मूल सुकेर गएको छ। त्यसयता स्थानीय बासिन्दा चरम खानेपानी संकटमा परेका छन्।

स्थानीय मिलन खड्काका अनुसार अहिले बस्तीका नागरिकले पिउने पानीका लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ। भैसेवाज गाउँका विद्यार्थीहरू हरेक बिहान विद्यालय जाँदा खाली ग्यालिन बोकेर जान्छन् र साँझ विद्यालय छुटेपछि त्यही ग्यालिनमा पानी भरेर घर फर्किने गरेका छन्।

LIfe Ok

विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढाइभन्दा पनि घरका लागि पानी कसरी पुर्‍याउने भन्ने चिन्ताले सताउने गरेको बताए। उनका अनुसार कक्षामा बस्दा पनि साँझ पानी कसरी ल्याउने भन्ने तनावले पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुने गरेको छ।

अग्लो डाँडामा रहेको बस्तीले प्रयोग गर्दै आएको खानेपानीको मुहान सुकेपछि समस्या झन् गम्भीर बनेको छ। वडाध्यक्ष मोहनलाल रिठालका अनुसार बस्तीसम्म पानी ल्याउन सकिने वैकल्पिक मुहानसमेत उपलब्ध छैन।

चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ विनियोजन गरेर खानेपानी व्यवस्थापनको प्रयास गरिएको भए पनि सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलनलाई विकल्पका रूपमा अघि सारिएको छ। यसअन्तर्गत एक हजार लिटर क्षमताका ८० वटा ड्रम वितरण गरेर वर्षाको पानी सङ्कलन गर्ने योजना बनाइएको वडाध्यक्ष रिठालले जानकारी दिए।

उनले आकाशे पानीले मात्र दीर्घकालीन समाधान नदिने भएकाले समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आवश्यक पहल गर्न माग गरिएको बताए।

स्थानीय मिलन खड्काले खानेपानी समस्याको विषय लिएर केही समयअघि सङ्घीय खानेपानी मन्त्रालयसम्म पुगेर मन्त्रीलाई श्रव्यदृश्य सामग्रीमार्फत वास्तविक अवस्था देखाएको बताए। उनका अनुसार मन्त्रीबाट समस्या समाधान गर्ने आश्वासन प्राप्त भएको छ। त्यसका लागि आफूले व्यक्तिगत रूपमा करिब ५० हजार रुपैयाँ खर्च गरेर काठमाडौँ पुगेको समेत उनले बताए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार