कोहलपुरमा कृषि यान्त्रिकीकरण अभियान : ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण




कोहलपुर । कृषिलाई आधुनिक, व्यवसायिक तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानहरूलाई विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ।

नगरपालिकाले कृषि उत्पादन वृद्धि, श्रम तथा उत्पादन लागत न्यूनीकरण र कृषकको आयस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कृषक, कृषक समूह, कृषि फार्म तथा कृषि सहकारीहरूलाई कृषि उपकरण वितरण गरेको जनाएको छ।

कार्यक्रमअन्तर्गत २२ एच.पी. क्षमताका ६ वटा पावर टिलर कृषि फार्म तथा कृषक समूहलाई, १८ एच.पी. क्षमताका ३ वटा पावर टिलर कृषक समूहलाई तथा ९ एच.पी. क्षमताका ९३ वटा मिनी टिलर कृषक, कृषक समूह, कृषि फार्म र कृषि सहकारीलाई वितरण गरिएको छ। त्यसैगरी कृषि फार्म तथा कृषक समूहलाई ३ वटा रिपर पनि हस्तान्तरण गरिएको छ।

नगरपालिकाका अनुसार कृषि यान्त्रिकीकरणले खेतीपातीमा लाग्ने श्रम र समयको बचत गर्नुका साथै उत्पादन लागत घटाएर कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्दै कृषिलाई प्रतिस्पर्धी, उत्पादनमुखी र आत्मनिर्भर बनाउने अभियानलाई यस कार्यक्रमले थप टेवा पुर्‍याउने विश्वास लिइएको छ।

कोहलपुर नगरपालिकाले “समृद्ध किसान, आधुनिक कृषि र आत्मनिर्भर कोहलपुर” निर्माण गर्ने लक्ष्यसहित आगामी दिनमा पनि किसानमैत्री तथा उत्पादनमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ असार २१ गते आइतबार