
कोहलपुर । बाँकेको कोहलपुर १० रामनगरस्थित यूरो स्कुल कोहलपुरले दोस्रो वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । शनिबार कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख रविलाल मिजारले उद्घाटन गरेर दोस्रो वार्षिकोत्सव सुरु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख मिजारले प्रविधिमैत्री शिक्षाको आवश्यकता दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै यूरो स्कुलले आधुनिक र डिजिटल माध्यमबाट शिक्षण–सिकाइ अघि बढाएको कार्य प्रशंसनीय रहेको बताए ।

‘आजको शिक्षा प्रणाली केवल पुस्तकमा सीमित रहनु हुँदैन । बालबालिकाको समग्र विकासका लागि प्रविधि, सिर्जनशीलता र व्यवहारिक ज्ञान अत्यन्त आवश्यक हुन्छ, उनले भने, ‘यूरो स्कुल कोहलपुरले डिजिटल माध्यममार्फत अध्ययन–अध्यापनलाई प्रभावकारी बनाउँदै अभिभावकलाई पनि बालबालिकाको सिकाइ प्रक्रियासँग जोड्ने प्रयास गरेको देखिन्छ ।’
‘घरमै बसेर पनि अभिभावकले आफ्ना बालबालिकाको क्रियाकलाप अवलोकन गर्न पाउने व्यवस्था हुनु निकै सकारात्मक पक्ष हो ।’ उनले थपे, ‘यसले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाउँछ, विद्यालयले बालबालिकाको बौद्धिक मात्र नभई नैतिक, सामाजिक र सिर्जनात्मक विकासमा पनि जोड दिएको देखिन्छ ।

यस्तो प्रयासले कोहलपुर क्षेत्रमै गुणस्तरीय र आधुनिक शिक्षाको नयाँ उदाहरण प्रस्तुत गर्ने र आगामी दिनमा पनि विद्यालयले स्मार्ट र प्रविधिमैत्री शिक्षालाई अझ सुदृढ गर्दै बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको मिजारले बताए ।
यस्तै विद्यालयका संस्थापक सञ्चालक कमल पछाईले विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षाका माध्यमबाट आफ्नो पहिचान स्थापित गर्न सफल भएको बताए ।

‘यूरो स्कुल कोहलपुर स्थापना भएको छोटो अवधिमै अभिभावक र समुदायको विश्वास जित्दै अघि बढिरहेको छ’ उनले भने, ‘हाम्रो उद्देश्य केवल पाठ्यपुस्तक पढाउने मात्र होइन, बालबालिकाको समग्र अर्थात् सार्वाङ्गिण विकास गर्नु हो ।’ त्यसैले विद्यालयमा डिजिटल माध्यमबाट अध्ययन–अध्यापन, सिर्जनात्मक गतिविधि, कला, खेलकुद तथा जीवन उपयोगी सीपमा विशेष ध्यान दिइरहेको पछाईले बताए ।
कोहलपुरमा नमूना स्मार्ट स्कुल बनाउने लक्ष्य सहित अगाडी बढेको छ, ‘हरेक कक्षा कोठामा २४ जना विद्यार्थी हुनेछन्,’ उनले थपे, ‘हरेक विद्यार्थीको केस स्टडी हुनेछ, जसअनुसार विद्यार्थीको सिर्जनशिलता, पढाई तथा अन्य क्षेत्रको पहिचान गरी अध्ययन अध्यापन हुनेछ ।’

हरेक कक्षा कोठामा स्मार्ट बोर्ड, मन्टेश्वरी टेनिङ्ग प्राप्त शिक्षकशिक्षिकाले अध्यापन गराउने, प्रविधिलाई प्रयोग गरी प्रयोगात्मक अध्ययन गराउने, नयाँ नयाँ खोज अनुसन्धानमा विद्यार्थीलाई अग्रसर बनाउने, हरेक कक्षाको ठामा चिसोमा हिटर र गर्मीमा एसीको व्यवस्था भएको उनको भनाई थियो ।

अभिभावक कमला थापाले आफ्ना बालबालिकाको सिकाइ प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने उद्देश्यले घरमै बसेर पनि विद्यालयका गतिविधि हेर्न सकिने प्रविधि प्रयोग गरिएकोले निकै उत्साहित भएको बताइन् ।
‘यसले पारदर्शिता र विश्वास दुवै बढाएको छ उनले भनिन्, कोहलपुरमै आधुनिक र स्मार्ट स्कुलको रूपमा स्थापित हुने लक्ष्यसहित शिक्षण पद्धतिमा निरन्तर सुधार गरिरहेको देखिन्छ त्यसमा सन्तुष्ट भएको छु ।

थप आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्दै बालबालिकालाई सिर्जनशील, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन यूरो स्कुलले भूमिका खेल्नेछ भन्ने विश्वास लिएको बताइन् ।
यस्तै वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न गीतमा आकर्षक नृत्य, सिर्जनात्मक कला प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । बालबालिकाको प्रतिभा र सिर्जनशीलता झल्किने प्रस्तुतीले उपस्थित दर्शकको मन जितेको थियो ।

स्कुलका १ वर्ष भन्दा बढि काम गरिरहेका शिक्षक कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो भने २०८१ सालमा उत्कृष्ट हुने प्रथम, द्धितीय, तृतीय र अन्य विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत हस्तान्तरण गरिएको थियो ।
कोहलपुरको आधुनिक ‘स्मार्ट स्कुल’ को रूपमा पहिचान बनाउन सफल स्कुलले आगामी यहि चैत महिनादेखि पिजी देखि कक्षा ८ सम्म भर्ना समेत खुलेको प्रिन्सिपल पुरुषोतम शर्माले जानकारी दिएका छन् ।

कार्यक्रममा क्रिसा बाँकेका अध्यक्ष तथा नेशनल प्याब्सन बाँकेका सचिव वेगम चन्द, कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन सुवेदी, यूरो स्कुलका सञ्चालकद्वय शेरचन भण्डारी, बामदेव न्यौपाने लगायत ४ सय बढि अभिभावकको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्