फत्तेपुरको जंगलबाट नरभक्षी पाटेबाघ नियन्त्रण

File Photo

काेहलपुर ।

बाँकेको राप्तीसोनारीमा विगतदेखि मानिसको आक्रमण गरी ज्यान लिइरहेको बाघ नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरको जंगलबाट आज बिहान साढे १० बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।

फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारीपटी राप्ती पीडित सामुदायिक बनबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेले बताए । उनका अनुसार बिहान ९ः४० बजेतिर डाट हानेको बाघलाई साढे १० बजे फेला पारिएको हो । करिव ८ वर्षको अजंगको भाले बाघ नियन्त्रणमा आएको बताए ।

उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई हिजो नै शिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए । पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समिति लगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै राप्तीसोनारी र नरैनापुरमा गरी ५ महिनामा ५ जनाले ज्यान गुमाई सकेका छन् । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन् । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए । सो बाघलाई बाँके राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको छ ।