उत्तर कोरियामा हतियार पठाउने एक चिनियाँलाई अमेरिकामा जेल सजाय




वासिङ्टन डीसी ।  चीनका एक नागरिकलाई अमेरिकामा जेल सजाय सुनाइएको छ । उत्तर कोरिया बन्दुक र अन्य सैन्य सामाग्री पठाएको आरोप प्रमाणित भएपछि अमेरिकाका न्याय मन्त्रालयले ४२ वर्षका शेङ्हुवा वेनलाई आठ वर्षको जेल सजाय सुनाएको हो ।

क्यालिफोनिर्याबाट हतियार ढुवानी गरेर पठाउन वेनले उत्तर कोरियाका अधिकारीहरूबाट २० लाद डलर जति लिएको मन्त्रालयले सोमबार एउटा विज्ञप्तिमा भनेको छ । वेन क्यालिफोनिर्याको ओन्टारियोका बासिन्दा हुन् । २०२४ को डिसेम्बर यता उनी हिरासतमा छन् ।

जुनमा वेनमाथि विदेशी सरकारको गैरकानूनी एजेन्ट बनेको अनि उत्तर कोरियामाथिको प्रतिबन्ध उल्लङ्घन गर्दै हतियार पठाएको आरोप प्रमाणित भएको थियो । वेन २०१२ मा विद्यार्थी भिसामा अमेरिका आएको अनि २०१३ को डिसेम्बरमा भिसाको म्याद सकिएपछि पनि अमेरिका नै बसेको विज्ञप्तिमा मन्त्रालयले भनेको छ ।

अमेरिका छिर्नुअघि वेनले चीनमा रहेको उत्तर कोरियाली दूतावासमा उत्तर कोरियाली सरकारका अधिकारीलाई भेटेको पनि बताइएको छ । दुई उत्तर कोरियाली अधिकारीले २०२२ मा वेनसँग अनलाइन म्यासेजिङ प्लेटर्फमार्फत सम्पर्क गरेको अनि उनलाई उत्तर कोरियाबाट हतियार तस्करी गर्न भनेको पनि मन्त्रालयले भनेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार