काठमाडौँ । भदौमा अन्य महिनाभन्दा बढी नै फिल्म प्रदर्शन हुँदै आएका हुन्छन् । यस वर्ष पनि त्यसले निरन्तरता पाएको छ । भदौमा आठ नेपाली फिल्म हलमा लाग्दै छ । चाडपर्वका बिदा आरम्भ हुने भएकाले पनि निर्माताहरूबीच भदौमा फिल्म प्रदर्शन गर्न प्रतिस्पर्धा हुने गरेको छ।
भदौका चारैवटा शुक्रबार हलमा नयाँ फिल्म प्रदर्शनको तयारीमा छ ।
एक मात्र होइन कुनै साता त तीन फिल्म एकैसाथ प्रदर्शन हुँदै छन् । यसले हलमा सो वितरणमा पनि होडबाजी हुने संकेत देखिन्छ । वैशाखदेखि साउन अन्तिमसम्म हलमा १४ नेपाली फिल्म प्रदर्शन भए । ‘ऊनको स्विटर’, ‘जार’, ‘के घर के डेराः घर नं २’, ‘मोहर’ र ‘सिटामोल’ ले समीक्षात्मक रूपमा सकारात्मक प्रतिक्रिया पाए । तर नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्विटर’ बाहेक अन्य फिल्म चल्न सकेन ।
चार महिनामा ‘भूठान’, ‘खेल’, झिल्को’, ‘जार’, ‘ऊनको स्विटर’, ‘के घर के डेरा : घर नं २’, ‘हेल्लो काशीराम’, ‘नरसिंहा अवतार’, ‘महाभोज’, ‘जन्ते बाख्रो’, ‘यो मन त मेरो नेपाली हो’, रियल रिङ्गेट’, ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शन भए ।
गत वर्षको तुलनामा यस वर्षको थालनीमा नेपाली फिल्म बजार सुस्ताएको समीक्षकहरूको आँकलन छ। कारण हो, अपेक्षित फिल्म पनि हलमा नचल्नु । भदौमा चल्ने आठ फिल्मबाट भने नेपाली फिल्मकर्मी केही आशावादी देखिन्छन् ।
भदौ पहिलो साता तीन फिल्मबीच प्रतिस्पर्धा हुनेछ । फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ एकै दिन हलमा लाग्दै छ । तीनवटै फिल्म फरक जनरामा बनेको छ । निर्माण पक्ष, कलाकारलगायत सबैले आआफ्नो स्थानबाट फिल्मको प्रचार गरिरहेका छन् । दर्शकसामू फिल्म पु¥याउन सक्दो प्रयास गरिरहेका छन् ।
माग्ने राजा
‘माग्ने राजा’ केदार घिमिरेको मुख्य भूमिकामा बनेको फिल्म हो । सहायक भूमिकामा देखिँदै आएका कलाकार घिमिरेले यही फिल्ममा पहिलोपटक मुख्य भूमिकामा अभिनय गरेका छन् । यो दर्शकका लागि पनि प्रतीक्षाको विषय बनेको छ ।
फिल्मका निर्देशक ऋषि लामिछानेले पनि आठ वर्षपछि निर्देशनमा फर्केका छन् । फिल्म एक सामान्य व्यक्तिको धनी बन्ने सपनामा आधारित छ । माग्नेको स्थितिमा रहेको व्यक्तिको राजा बन्नेसम्मको कथा फिल्मले समेटेको निर्माण टिमको दाबी छ ।
हास्य जनरामा बनेको फिल्ममा घिमिरेसहित वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, मिस पबीलगायत कलाकारको अभिनय छ । सामाजिक कथामा आधारित फिल्मको प्रचार सामग्री पोस्टर, टिजर, ट्रेलरसहित ‘सुतेर उठेको पैसामा’, ‘त्यो मिठो जोवन’ बोलको गीत दर्शकले रुचाएका छन् ।
जनै हराएको मान्छे : सम्बन्धका धागाहरू
भदौ ६ मै विजय बराल मुख्य भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रदर्शन हुँदै छ । सामाजिक तथा पारिवारिक कथामा बनेको फिल्म मानवीय सम्बन्धमा आउने उतारचढावको कथामा आधारित छ । शीर्षकअनुसार फिल्मले सम्बन्धको कथा प्रस्तुत गरेको टिमको दाबी छ । ‘पूर्णबहादुरको सारङ्गी’ पछि विजयको मुुख्य भूमिकामा रहेको दोस्रो फिल्म भएकाले पनि फिल्मप्रति दर्शक केही अपेक्षित छन् ।
फिल्ममा मुख्य अभिनेत्रीमा मिरुना मगर र केकी अधिकारी छन् । फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् । फिल्मको प्रचार सामग्रीमा पोस्टरदेखि टिजर, ट्रेलर र दुई गीत सार्वजनिक भइसकेको छ । ‘आमा’ र ‘मसुरीको दाना’ बोलको गीत दर्शकले निकै रुचाएका छन् । फिल्ममा अन्य कलाकारमा गौरव पहारी, भोलाराज सापकोटा, रियर राई, सुशांक मैनाली, तारा शर्मा, भावना खपांगी मगरलगायतको अभिनय छ ।
ताराहरू
सामाजिक कथामै बनेको अर्को फिल्म ‘ताराहरू’ का निर्देशक आशान्त शर्मा हुन् । निर्देशक शर्माका अनुसार फिल्म मध्यमवर्गीय परिवारले सहरमा गर्नुपरेको संघर्षको कथामा आधारित छ । फिल्मको मुख्य भूमिकामा उनी स्वयं छन् ।
थिएटरमा नाटक मञ्चन गरिहेका टिम मिलेर फिल्म बनाएका हुन् । निर्देशक शर्माकै कथा रहेको फिल्ममा अन्य कलाकार मेनुका खड्का, मीरा खड्का, प्रभाकर न्यौपाने, कुन्दुन शाक्य, आभास अधिकारी, राज पंगेनी शर्मा, पुस्कर गुरुङलगायत छन् ।
फिल्मको प्रचार सामग्री पोस्टर, टिजर, ट्रेलरसहित ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ बोलको गीतले पनि फिल्मप्रति दर्शक आकर्षित देखिन्छन् । वेज प्रा. लि.को प्रस्तुति रहेको फिल्मका निर्माता गोपिनी सेडाइँ र कृष्णप्रसाद पंगेनी शर्मा हुन् । शरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादनमा बनेको छ ।
कोशेढुङ्गा
सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म ‘कोशेढुङ्गा’ भदौ १२ देखि हलमा लाग्दै छ । सरोज उनै निर्देशक हुन् जसले गत वर्ष सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ निर्देशन गरेका थिए । फिल्ममा समावेश ‘नत्र भने ‘जिन्दगी व्यर्थ छ’ र ‘भंगेरा र भंगेरी’ बोलको दुई गीत सार्वजनिक भइसकेको छ । ‘नत्र भने ‘जिन्दगी व्यर्थ छ’ गीत तीज लक्षित छ । गीत अहिले टिकटक र फेसबुक रिल्समा निकै चर्चित बनेको छ । ड्रामा जनरामा बनेको फिल्मको टिजर र ट्रेलर भने सार्वजनिक हुन बाँकी छ ।
फिल्मका निर्माता दिनेश खड्का हुन्। फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहारी, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, दीनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारको अभिनय छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता प्रेबिल कँडेल र किशोर अनुराग हुन् ।
‘गुन्यो चोलो : द ड्रेस’
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित फिल्म हो ‘गुन्यो चोलोः द ड्रेस’। फिल्मकी निर्देशक समुद्र भट्ट हुन्। फिल्म भदौ १३ देखि हलमा प्रदर्शन हुँदै छ । फिल्ममा मानिसको उमेर वृद्धिसँगै शारीरिक बनावटमा आउने परिवर्तनलाई परिवार र समाजले स्वीकार्न नसक्दा ती व्यक्तिहरूले भोग्नुपरेको पीडा र संघर्षको कथा प्रस्तुत गरिएको टिमको दाबी छ ।
मुख्य भूमिकामा नाजिर हुसेनले अभिनय गरेका छन् । गुलाबी पात्रको कथामा अभिनेता नाजिर पारलैंगिक महिला (ट्रान्सवुमन) बनेका छन् । निर्देशक भट्टकै कथा रहेको फिल्मको पटकथा तथा संवादमा निर्देशकसँग नाजिरले सहकार्य गरेका छन् ।
फिल्ममा सञ्जिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सार्वजनिक फिल्मको गीत ‘म फूल हुँ कि काँडा’ र ट्रेलर दर्शक रुचाएका छन् । हलमा चलिरहेको विषयवस्तु भन्दा फरक कथा उठाएकोले दर्शक फिल्मप्रति आकर्षित बनिरहेका छन् । फिल्म आकाश बुढाथोकीले निर्माण गरेका हुन् ।
भदौ २० मा ‘रिमै’ र ‘चिठी’
भदौ तेस्रो साता हलमा ‘रिमै’ र ‘चिठी’ एकसाथ प्रदर्शन हुनेछ । ‘रिमै’ गुरुङ समुदायको संस्कृतिमा आधारित छ । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मका निर्देशक खिल बहादुर गुरुङ हुन् ।
फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, बद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले, माओत्से गुरुङ, पुस्कर गुरुङ, बाल कलाकारमा असिम सुब्बा, प्रस्टु गुरुङ र प्रश्ना रानामगरले अभिनय गरेका छन् ।
गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मसको प्रस्तुति रहेको फिल्म टीका गुरुङ, जीत यात्री गुरुङ र दनुबहादुर घलेले निर्माण गरेका हुन् ।
चिठी
कमेडी सस्पेन्स र थ्रिलर जनरामा बनेको फिल्म हो ‘चिठी’। फिल्मका लेखक तथा निर्देशक माधवराज खरेल हुन् । फिल्ममा खड्गबहादुर पुनमगर ‘खबपु’, सञ्जित भण्डारी, गोपाल ‘ढकाल छन्दे’, श्रीदेव भट्टराई, कञ्चन चालिसे, मोहन निरौला, रश्मि भट्टलगायत कलाकारको अभिनय छ । फिल्म कमला कुमारी जोशीले निर्माण गरेकी हुन् ।
अन्तिम शुक्रबार ‘अभिमन्यु’
सुशान्त गौतमले निर्देशन गरेको फिल्म ‘अभिमन्युः च्याप्टर १’ भदौ अन्तिम साता प्रदर्शन हुँदैछ । क्राइम जनरामा बनेको फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, सरिता गिरी, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ । फिल्मको कथा मुकेश खनालले लेखेका हुन् ।
कथा पैसाको प्रलोभनले चक्रव्यूहमा फसेको व्यक्तिले त्यसबाट मुक्त हुन गर्नुपरेको संघर्षमा आधारित रहेको टिमको दाबी छ । निर्माण टिमले प्रविधिको सदुपयोग गर्दै एआई भिडियोमार्फत फिल्मको प्रचार गरिरहेका छन् । समाचार तयार पार्दासम्म फिल्मको टिजर, ट्रेलर आएको छैन । पोस्टर र ‘माली’ बोलको गीत सार्वजनिक भइसकेको छ । अन्य गीत, टिजर र ट्रेलर कस्तो आउँदा त्यो प्रतीक्षामै छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी हुन् । विनोद पौडेल सर्वाधिक हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता हुन् ।
चाडपर्वको अवसरले निर्माताबीच प्रत्यक्ष प्रतिस्पर्धा बढाएको छ । कमेडी, पारिवारिक, सामाजिक, ड्रामा, अपराध र लैंगिक अल्पसंख्यक कथासहितका फिल्महरूले फरक–फरक शैली र अभिनयसहित दर्शकको ध्यान तान्ने अपेक्षा गर्न सकिन्छ । प्रतिस्पर्धामा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘ताराहरू’, ‘कोशेढुङ्गा’, ‘गुन्यो चोलोः द ड्रेस’, ‘रिमै’, ‘चिठी’ र ‘अभिमन्यु’ हुनेछन् । प्रचार, गीत र ट्रेलर हेर्दा हरेक फिल्मप्रति आकर्षण बढ्ने देखिए पनि कुन फिल्मले सफलता चुम्छ र कुनले निर्मातालाई डुबाउँछ भन्ने थाहा पाउन केही समय कुर्नैपर्नेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्