‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी बनाउन जिम्मेवार बनौं




कोहलपुर नगरपालिकामा ‘आमा सुरक्षा कार्यक्रम’ कार्यान्वयनमा जटिलता देखिएको छ । नेपालमा मातृ मृत्युदर उच्च हुनु राज्यको दीर्घकालीन स्वास्थ्य चुनौती हो । सरकारले मातृ मृत्युदर घटाउनका लागि सञ्चालनमा ल्याएको ‘आमा सुरक्षा कार्यक्रम’ विशेष रूपमा कमजोर आर्थिक अवस्था भएका गर्भवती महिलाहरूलाई लक्षित कार्यक्रम हो । यस कार्यक्रममार्फत निःशुल्क प्रसूति सेवा, सुत्केरी भत्ता, गर्भ जाँच लगायतका सेवा उपलब्ध गराइन्छ । तर, यस कार्यक्रमको गुणस्तरीय र प्रभावकारिता अझै सन्तोषजनक देखिँदैन ।

नेपालगञ्ज मेडिकल कलेजसंगको २० वर्षदेखि निरन्तर अवरोध विना कार्यक्रम सञ्चालन गरेता पनि पारदर्शी र प्रभावकारी नभएकै कारण नगरपालिकाले नविकरण नगर्ने र नेपालगञ्जको भेरी अस्पतालसंगको सहकार्य र समन्वयमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको देखिन्छ । यो कार्यक्रमको उद्देश्य अत्यन्तै सकारात्मक छन् तर कार्यान्वयन पक्षमा निकै चुनौतीहरू छन् । यो कार्यक्रमले कागजमै सीमित हुने, सेवाको पहुँच सबै महिलामा नपुग्ने र स्वास्थ्य संस्थाहरुले अझै पनि सो कार्यक्रममा सुशासन र पारदर्शिताका आधारमा काम गर्न सकेको छैन ।

जसरी भेरी अस्पताल र कोहलपुर नगरपालिकाबीच आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय सैद्धान्तिक रूपमा सकारात्मक कदम हो । तर, सञ्चालन मात्रै पर्याप्त होइन । त्यसको प्रभावकारी कार्यान्वयन, पारदर्शी अनुगमन र कोहलपुरबासीसँगको सहकार्य आवश्यक छ । कोहलपुर नगरपालिकाले नगर अस्पताल, स्वास्थ्य केन्द्र, प्रर्वधन केन्द्र लगायतका संरचनाहरुलाई पूर्णता दिनुपर्छ जसले यो कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्नेछ । विशेषज्ञ स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी, वडाका स्वयंसेविकाहरुले स्थानियबासीहरुसंगको गहिरो समन्वयको आवश्यकता छ ।

यस कार्यक्रमलाई व्यवहारिक रूपमा प्रभावकारी बनाउन कडी बन्न सक्छ । साथै सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग तथा जनचेतना अभिवृद्धि गरिनु अत्यावश्यक छ । नेपालमा हरेक महिलाले सुरक्षित र सम्मानजनक मातृत्व सेवा पाउनु संविधानले प्रत्याभूत गरेको अधिकार हो । त्यसैले, यस्तो कार्यक्रम केवल बजेट र रिपोर्टको विषय होइन, जीवन र भविष्यको सवाल हो । सरकार, स्थानीय निकाय, स्वास्थ्य संस्था र समुदाय सबै मिलेर आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जिम्मेवार बन्नुपर्छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार