सुनको लोभले कैलालीमा देवरबाटै सुत्केरी भाउजूको हत्या




कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ कैलाशपुरमा मृत अवस्थामा फेला परेकी १९ वर्षीया सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको प्रहरीले पत्ता लगाएको छ । तुलसीको शुक्रबार बिहान शव फेला परेको थियो ।

पक्राउ परेका नवीन नाथले प्रहरीलाई विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको बयान दिएका हुन् । प्रहरी समक्ष उनले भनेका छन्, ‘भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए ।’

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले सहोदर देवरले तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए । उनले भने, ‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ ।’ नवीनले सुनका गहनाका लागि नै आफूले हत्या गरेको कुरा स्वीकार गरिसकेको डिएसपी चन्दले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार