
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले फोहार व्यवस्थापन कार्यविधि पूर्ण रुपमा कार्यान्वयन गराउन सुझाव र सल्लाह माग्न थालेको छ ।
कोहलपुर नगरपालिका विभिन्न टोल सुधार समिति, राजनितिक दल, संघसंस्था लगायत सामाजिक अगूवाहरुबाट फोहार व्यवस्थापन कार्यविधि पूर्ण रुपमा कार्यान्वयन गराउन सुझाव र सल्लाह माग्न थालेको हो ।
कोहलपुर नगरपालिकाको नगर प्रहरी, विपद् व्यवस्थापन शाखाको आयोजनामा विभिन्न समयमा सबै सरोकारवालाहरुसंगको छलफल गरी महत्वपूर्ण सुझाव, राय, सल्लाह संकलन भएको नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए ।

कोहलपुर नगरपालिकाले हालसम्म कोहलपुर नगरपालिकाले सरसफाई, फोहोरमैला र वातावरण व्यवस्थापनसँग सम्बन्धित वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, वन व्यवस्थापन ऐन २०७८, सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि २०७६, संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि २०७७ र फोहोर व्यवस्थापन सुझावसहितको अध्ययन प्रतिवेदन २०८० निर्माण गरिसकेको छ ।
नगर प्रहरी प्रमुख थापाले हाल कोहलपुरमा दैनिक ८–१० टन फोहोर उत्पादन हुने र तीमध्ये घरबाट ६३ प्रतिशत, कार्यालयबाट २८ प्रतिशत र होटलबाट ९ प्रतिशत फोहोर उत्पादन हुने गरेको बताए ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका नेता भुम भण्डारीले स्थानिय सरकारले विगतमा बनाएका फोहारमैला व्यवस्थापन सम्बन्धी कानून, ऐन, नियम र कार्यविधिहरुलाई अहिलेको अवस्थामा संशोधन गर्नुपर्ने बताए ।
कोहलपुर नगरपालिकामा काम गर्ने कर्मचारीबाट यो अभियान सुरु गर्नुपर्छ उनले भने सबै सामुदायिक र कर्मचारीहरुकै घरबाट फोहारमैला व्यवस्थापन गर्न सदस्य बन्न आग्रह गर्नुपर्ने भण्डारीले बताए ।
स्थानीय सरकार र सरोकारवाला निकायले पनि कोहलपुरमा सरसफाइबारे सचेतना फैलाउन आवश्यक छ भने फोहोरको वर्गीकरणदेखि संकलन र व्यवस्थापनमा एकद्वार प्रणाली लागु गर्नुपर्ने भण्डारीको भनाइ छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्काले नगर प्रमुखलाई भेटेर फोहोरमैला व्यवस्थापनका विषयमा सुझाव दिइसकेको बताए ।
पार्टीले यसअघि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई ४१ बुँदे मागपत्र बुझाएको भन्दै कोहलपुरलाई प्लाष्टिक मुक्त गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्