काठमाडौँ । इजरायलले इरानमाथि व्यापक हवाइ आक्रमण गरेको बदलामा इरानले करिब एक सयवटा ड्रोन इजरायलतर्फ पठाएको दाबी गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) का ब्रिगेडियर जनरल एफी डेफ्रिनका अनुसार इरानले करिब १ सय ड्रोन इजरायलतर्फ पठाएको छ । त्यसलाई खसाल्न आफूहरूले प्रयास गरिरहेको उनले बताएका छन् ।
अलजजिराका अनुसार इजरायली सेनाले केही वरिष्ठ इरानी अधिकारीहरूको हत्या गरेको पुष्टि गरेको छ । ती अधिकारीहरूमा इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी, इरानी रिभोलुसनरी गार्ड्स कर्प्स् प्रमुख हुसेइन सलामी र वरिष्ठ कमान्डर घोलम अली रशिद समावेश छन् ।
इरानी नेताहरूले इजरायलमाथि तुरुन्तै प्रत्याक्रमण गर्ने तयारी गरिरहेको तेहरान विश्वविद्यालयका अनुसन्धानकर्ता मोहम्मद इस्लामीले अलजजिरासँगको कुराकानीमा बताएका छन् । सो प्रत्याक्रणममा सैनिक र आणविक पूर्वाधारहरूलाई लक्ष्य बनाइने उनको भनाइ छ ।
‘यस्तो अवस्थाबारे इरानी सेनाले वर्षौँदेखि पूर्वानुमान गरेका थिए र पछिल्ला दिनमा इरानको रक्षा मन्त्रालयले इजरायली आक्रमणको जवाफ दिन तयार रहेको अभिव्यक्तिसमेत दिइरहेकै थियो,’ उनले अलजजिरासँग भनेका छन्, ‘यो अवस्था सन् १९८० को इरान-इराक युद्धको जस्तै हो । यसमा सबै राजनीतिक दलहरूले देशको रक्षा गर्न समर्थन जनाएका छन् ।’
इजरायलले सिरिया र साउनदी अरेबियाको आकाशमा अनआर्म्ड एरियल भेहिकल (ड्रोन) इन्टरसेप्ट अर्थात् इरानी ड्रोनहरूलाई निस्तेज गर्न थालेको जनाएको छ । इजरायलको सरकारी सञ्चारमाध्यम, च्यानल १२ का अनुसार सिरिया र साउदी अरेबियामा इरानी ड्रोनलाई इन्टरसेप्ट गर्न थालिएको छ । जोर्डनको सरकारी समाचार एजेन्सीले पनि शुक्रबार बिहान जोर्डनको हवाइ क्षेत्रचित्र पसेका कयौँ क्षेप्यास्त्र र ड्रोनहरू इन्टरसेप्ट गरिएको जनाइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्