कोहलपुरका तीन विद्यालयमा १० दिने ग्रासरुट फुटबल प्रशिक्षण सुरु




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका तीन विद्यालयमा १० दिने ग्रासरुट फुटबल प्रशिक्षण तालिम सुरु गरिएको छ ।

क्षेत्र नं. १ ख अन्तर्गत क्षेत्रिय विकास कोष अन्तर्गत सामाजिक विकास डिविजन कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा कोहलपुरका तिन विद्यालयका १ सय ५० विद्यार्थीलाई ग्रासरुट फुटबल प्रशिक्षण दिन थालिएको हो ।

कोहलपुर १० मा रहेको जिवन ज्योति स्कुल, ज्ञानज्योति मावि चप्परगौडी र कृष्ण माविका १ सय ५० विद्यार्थीहरुलाई क्षेत्र नं. १ ख बाँकेका लुम्बिनी प्रदेशका सभा सदस्य दुर्गा बहादुर चौधरीले ६० फुटबल, १ सय ५० वटा जर्सी, जुराब र कोण मार्कर हस्तान्तरण गरेका थिए ।

यस्तै लुम्बिनी प्रदेशका सभा सदस्य दुर्गा बहादुर चौधरीले आफू बाल्य कालमा फुटबल आफूसंग नहुँदा फुटबल खेल्न नपाएको बताउँदै बालबालिकाहरुलाई फुटबलको अभावमा खेल्न नपाउने अवस्था आउन नदिने उनको भनाई थियो ।
१४ वर्ष मूनीका बालबालिकाहरुलाई फुटबल खेल्नका लागि आवश्यक पर्ने सामग्रीहरुलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै खेलकुद क्षेत्रको विकास गर्न आफू कटिबद्ध रहेको बताए ।

यस्तै तिन विद्यालयमा प्रमुख र सहायक प्रशिक्षक राखिएको छ जसमा जिवन ज्योति स्कुलमा श्यामु तामाङ, स्मित तामाङ , ज्ञानज्योति मावि चप्परगौडीमा‎ रविन श्रेष्ठ, भोज बहादुर शाही र कृष्ण माविमा उमेश आले, आशिष गुरूङ रहेका छन् ।
१० दिने प्रशिक्षण तालिम पश्चात फुटबल प्रतियोगिता गरिने सिटि यूथ क्लबका अध्यक्ष युवराज शाहीले जानकारी दिए ।

‘पछिल्लो समयमा नेपाल लगायत विश्वका धेरै मुलकहरुमा फुटबल निकै उत्साहपूर्ण र चर्चित खेलका रुपमा लिइन्छ जसलाई कोहलपुरका नयाँ यूवापुस्तालाई जोस जाँगर सहित प्रशिक्षण गर्नेछौं’, उनले भने, ‘१० दिने प्रशिक्षण पश्चात प्रतियोगिता गर्नेछौं ।

सो खेलमा उत्कृष्ट हुने टिमलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई १५ हजार रुपैया नगद सहित मेडल र प्रमाण पत्र दिइने अध्यक्ष शाहीले बताए । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार उपलब्ध गराउने शाहीको भनाई रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेठ २८ गते मंगलबार