कोहलपुर । कोहलपुर नगरपालिकाले रोजगार रणनीति बनाउने भएको छ । पहिलो चरणमा सोमबार कोहलपुरका उद्योगी व्यवसायीसंग छलफल गर्दै सुझाव लिने काम गरिएको रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले जानकारी दिए ।
रोजगारी सिर्जनाका लागि स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्न तयार रहेको उधोगी व्यवसायीले प्रतिबद्धता जनाए । उनीहरुले रोजगारी सिर्जना गर्ने कुरा चुनौतीपूर्ण रहेको भन्दै संघीय सरकारले नै नीतिगत व्यवस्था गरीर यो समस्यालाई समाधान गर्न सुझाए । व्यवसायीहरुलाई व्यवसाय संचालनमा सरकारले जति सक्यो सहज बाताबरण बनाउन सक्यो त्यति धेरै रोजगारी सिर्जना हुने उनिहरुको विश्वास थियो ।
यस्तै उद्याेग बाणिज्य संघ कोहलपुरका अध्यक्ष प्रदीप भट्टराईले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताए । निजी क्षेत्रबाट आफुहरुले केवल सम्मान मात्र खोजेको उनको भनाइ छ । उनले रोजगारी सिर्जना गर्नका निमित्त सबैभन्दा पहिला व्यवसायीहरुको संरक्षण गरिनुपर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्त थिलोथिलो भैरहेको बताउदै उनले यस्ता कार्यक्रमका माध्यमबाट व्यवसायहरुमा छुट्टै उर्जा आउने पनि बताए ।

यस्तै उद्याेग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य चक्र अधिकारीले कोहलपुरको पेरिफेरीमा सानादेखी ठूला उधोगहरु रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । उनले व्यवसायीक कृषि गर्नेहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । उनले रोजगारीलाई सुरक्षित बनाउन स्थानीय सरकारले कृषिलाई प्राथमिकता राख्नुपर्ने धारण राखेका छन् ।
यस्तै उद्याेग बाणिज्य संघ कोहलपुरका संस्थापक अध्यक्ष कर्ण थापाले रोजगारी सिर्जनाका लागि आवश्यकताका आधारमा सीप सिकाउन जरुरी रहेको बताए । उनले प्रबिधिमैत्री तालिम दिनुपर्ने बताए । उनले रोजगारी सिर्जनाका लागि राजनीतिक इमान्दारीतामा समेत जोड दिए ।
यस्तै उद्याेग बाणिज्य संघ कोहलपुरका पूर्व अध्यक्ष चिन्तामणी धितालले स्थानीय सरकारले रोजगार नीतिनै बनाएर रोजगारी सिर्जना गर्ने कुरा सकारात्मक रहेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकार बीचका नीतिहरुमा एकरुपता हुनु पर्ने बताए ।
अहिले स्थानीय बजारमा दक्ष जनशक्ति अभाव रहेको पनि उनले उल्लेख गरे । ‘कृषि क्षेत्र रोजगारीको महत्त्वपूर्ण स्रोत रहेको बताए। ञउधोग, कृषि, पर्यटन लगायत रोजगारीका प्रमुख स्रोत हुन्’ उनले भने’ ‘स्थानीय सरकारले त्यसको पहिचान गरेर रोजगारी उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्छ ।’

अर्का पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले खुल्ला सिमानाकाबाट हुने कारोबारमा भन्सार कडाइ नगरिसम्म स्थानीय रोजगारी सिर्जना गर्न चुनौतीपूर्ण रहेको बताए । उनले भने रोजगारी सिर्जनाका लागि पहिला सरकारी नीति राम्रो हुनु पर्यो र त्यसपछि उपभोक्ता ईमानदार हुनु पर्यो, त्यसो भयो भने कम्तीमा स्थानीय उत्पादनले बजार पाउँनुकाे साथै स्थानीयले रोजगार समेत पाउछन् ।
यस्तै अर्का पूर्व अध्यक्ष नरेन्द्र शर्माले रोजगारी प्रदान गर्नका निमित्त रोजगारदाताहरुको पहिचान गरेर त्यसैअनुसार तालिम दिनुपर्ने बताए । उनले रोजगार खोज्नेहरुलाई सीप सिकाउनै पर्ने बताए ।
यस्तै निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले स्थानीय सरकारले बनाउने नीतिमा रोजगारी दिने कि सिर्जना गर्ने स्पष्टहुनु पर्ने बताए । उनले स्वरोजगार बन्नेहरुलाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा कोहलपुर उद्याेग बाणिज्य संघका महासचिव राज कुमार पौडेल, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष आकाश घिमिरे, कपडा व्यवसायी संघका अध्यक्ष राजिव शर्मा, नमस्ते यातायात व्यवसायी संघका थम्मन बहादुर रोकाय, व्यवसायी राजेन्द्र रिजाल लगायतले रोजगारी सिर्जनाका विभिन्न सुझाव दिएका थिए ।
कोहलपुर नगरपालिकाका बिधायन समिति संयोजक सुनिता सुनारको अध्यक्षता भएको कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले विषयवस्तुबारे जानकारी गराएका थिए । कार्यक्रममा श्रीबृद्वि सेवा प्रालिका कार्यकारी प्रमुख सरोज चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए भने संचालन संघका महासचिव दिपक भण्डारीले गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्