बैजनाथमा एड्भान्स आरन सुधार तालिम सम्पन्न




बैजनाथ । बैजनाथ गाउँपालिका–६ मा लक्षित वर्गका लागि सञ्चालन गरिएको ३० दिने एड्भान्स आरन सुधार तालिम सफलतापूर्वक सम्पन्न भएको छ। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोग तथा सोक्याड कोहलपुरको आयोजनामा सम्पन्न उक्त तालिममा ८ जना स्थानीय सहभागीहरूले कच्चा फलामबाट विभिन्न आधुनिक घरेलु सामग्री निर्माण गर्ने सीप सिकेका छन्।

तालिममा सहभागीहरूले हसिया, खुकुरी, खुडा, कुटो, चापर लगायतका घरेलु औजार तथा हतियार बनाउने व्यावहारिक सीप सिकेका थिए। समापन कार्यक्रममा प्रशिक्षक उमालाल बिकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । उनले सिकाएको सीपको सही सदुपयोग गर्न सहभागीहरूलाई आग्रह गर्दै, निरन्तर ३० दिनसम्म तालिममा उपस्थित भई सीप आर्जन गरेकोमा सहभागीहरूको प्रशंसा गरेका थिए।

समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही रहेका थिए। विशिष्ट अतिथि उपाध्यक्ष निर्मला रोकाया, बैजनाथ वडा नं. ३ का अध्यक्ष निखिल बैगार, कार्यपालिका सदस्यहरू फरुदुदिन हलवाई, कमान सिंह सुनार, कृष्णा सुनार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सभाध्यक्षता कृष्ण बहादुर बिकले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष शाहीले आरन व्यवसायलाई आधुनिकीकरण गर्न सामूहिक आरन उद्योग स्थापना गर्ने सुझाव दिनुभयो। साथै उनले बैजनाथको घरेलु उत्पादनलाई ब्रान्डको रूपमा स्थापित गर्दै उत्पादनको बजारीकरणमा स्थानीय सरकार पूर्ण साथ दिन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

विशिष्ट अतिथि उपाध्यक्ष निर्मला रोकायाले तालिममा सहभागी सबैले सामग्री उत्पादन र मर्मतको काम निरन्तर गर्न सके राम्रो आम्दानी गर्न सकिने उल्लेख गरे । उनले हसिया, खुकुरी, चापर जस्ता घरेलु औजारहरू हाम्रो दैनिकीको अनिवार्य भाग भएकोले यस्ता सीपको सदैव महत्व रहने बताए ।

सभाध्यक्ष कृष्ण बहादुर बिकले कार्यक्रममा सहभागी सबै अतिथि, प्रशिक्षक, सहभागी र सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै तालिमको सफल समापन घोषणा गरे ।

वडा अध्यक्ष निखिल बैगारले तालिम विशेषगरी विश्वकर्मा समुदाय लक्षित रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सीप विकास कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार