कोहलपुर ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले कांग्रेस जनतासंग जोडिएर अघि बढ्न आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ र प्रदेश सभा ‘क’ र ‘ख’ बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई आज कोहलपुरमा सम्बोधन गर्दै डा. भण्डारीले जनआकांक्षा बुझेर जनतासंग जोडिन सके मात्र पार्टी मजबुत बन्ने बताएका हुन् ।
जनतामा छाएको निराशा हटाउनका लागि गम्भीर हुन जरुरी रहेको बताउँदै उनले सत्ता केन्द्रित राजनीतिले जनतामा असन्तुष्टि बढेको बताए । “पुरानै अनुसार र सत्ता राजनीतिको अस्वस्थ खेलले जनतामा निराशा छाएको छ, त्यसलाई बदल्न आवश्यक छ,” डा. भण्डारीले भने-“त्यसका लागि हामी सबै तयार रहनुपर्दछ ।”
उनले समानुपातिक निर्वाचन प्रणालीले एउटै अनुहारलाई पटक पटक अवसर दिँदा नयाँ अनुहार अगाडि आउने नसकेको टिप्पणी गर्दै त्यसमा पनि सुधार ल्याउन जरुरी रहेको उल्लेख गरे ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न तेस्रो सम्मेलनमा केन्द्रिय सदस्यहरु हृदयराम थानी, डा. गोपाल दहित, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, जिल्ला सभापति नारायण प्रसाद गौडेल लगायतले सम्बोधन गरेका थिए ।
त्यसक्रममा क्षेत्रीय कार्यसमितिको वेबसाइट पनि शुभारम्भ गरिएको थियो । यस्तै क्षेत्रीय कार्यसमितिले गरेका महत्वपूर्ण कामहरु समेटेर भिडियो सामग्री पनि देखाइएको थियो । क्षेत्रीय सभापति केसीले पार्टीलाई प्रविधिमैत्री बनाउन वेबसाइट बनाएर शुभारम्भ गरिएको बताए ।
उनले संगठनलाई गतिशील र चलायमान बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए ।
सम्मेलनमा क्षेत्रीय सचिव खुम बहादुर बस्नेतले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ध्रुब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै प्रदेश सभा ‘क’ का कोषाध्यक्ष झुप बहादुर विष्टले आर्थिक प्रतिवेदन तथा प्रदेश सभा ‘ख’ का सचिव भिम पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सबै प्रतिवेदन सम्मेलनबाट पारित भएका छन् । कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गरेका थिए । सम्मेलनमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्