यहि फागुन २३ गते मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोह हुँदै ८८५ जना विद्यार्थीले दिक्षान्तमा भाग लिदै




भगवती पोख्रेल, सुर्खेत
सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोह गर्न लागेको छ । विश्वविद्यालयले यहि फागुन २३ गते तेस्रो दिक्षान्त गर्ने भएको हो । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गर्दै तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार बिहान ११ :०० बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा गर्ने भएको छ । वि.सं. २०६७ सालमा स्थापना भएको विश्वविद्यालयमा हाल ३ हजार ८४१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।


जसमध्ये ८ सय ८५ जना विद्यार्थीले यो पटक तेस्रो दीक्षान्त समारोहमा प्रत्यक्ष रूपमा सहभागिता जनाउने छन् । विभिन्न संकायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिने भएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता हुने छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयकि सहकुलपति विद्या भट्टराईको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। यस समारोहमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामा प्रमुख अतिथिका रूपमा उपस्थित रहने भएका छ्न ।
उक्त दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरू लाई विशेष सम्मान गर्ने भएको छ । स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीन जना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीन जनालाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्र सहित विशेष पदक प्राप्त गर्ने भएका छ्न ।


विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि तथा पत्रकारिता संकायका विद्यार्थीहरूले दीक्षित हुने भएका छन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार