कालो कफी : ठिक्क खाए अमृत, बढी खाए विष




के तपाई कफीको शौखिन हुनहुन्छ ? तपाईंको दिन कफीबाट सुरु हुन्छ ? यसको मिठासबारे तपाई पक्कै जानकार हुनहुन्छ होला । सायद, कतिलाई थाहा नहुन पनि सक्छ, कफी ठिक्क खाए अमृत र बढी खाए विषसरह हो ।

कफीमा हुने एन्टिअक्सिडेन्ट र क्याफिनजन्य तत्वले शरीरलाई फाइदा पुर्‍याउने अध्ययन, अनुसन्धानहरूले देखाएका छन्। तर, यही कफी धेरै पिएमा शरीरका लागि हानिकारक पनि हुनसक्छ।

नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित अध्ययनअनुसार कफीले मुड सुधार गर्ने, एकाग्रता बढाउने र क्यान्सरको जोखिम कम गर्ने काम गर्छ। विशेषगरी कालो कफी कलेजो र मस्तिष्कका लागि निकै लाभदायक हुने जानकारहरु बताउँछन् ।

मस्तिष्कका लागि खुराक

वीर अस्पतालको स्नायु रोग विभागीय प्रमुख तथा स्नायु रोग विशेषज्ञ प्रा.डा. राजीब झाका अनुसार कफी मस्तिष्कका लागि खुराक जतिकै उपयोगी पेय हो। ‘कालो कफीले दिमागलाई सतर्क राख्छ, एकाग्रता बढाउँछ र स्नायु रोगजस्तै अल्जाइमर र पार्किन्सनको जोखिम घटाउन सहयोग गर्छ’ डा. झा भन्छन्, ‘यसमा पाइने क्याफिनले न्यूरोट्रान्समिटरलाई उत्तेजित गर्छ, जसले मानसिक थकान कम गर्न मद्दत गर्छ।’

त्यति मात्र नभएर यसले मस्तिष्कको समस्या अल्जाइमर र पार्किन्सनको जोखिम कम पार्ने उनको भनाइ छ।

कफीमा के त्यस्तो तत्व हुन्छ, जसले मस्तिष्कलाई सक्रिय बनाउँछ ? भन्ने प्रश्नमा डा. झा भन्छन्-कफीमा पाइने क्याफिनले स्नायुहरूलाई उत्तेजित पारी दिमागलाई सचेत बनाउँछ । शरीरलाई थकान गराउने एडेनोसिन नामक न्यूरोट्रान्समिटर प्रवाहलाई रोकेर स्फूर्त अनुभव गराउँछ।

कफीले डोपामाइन र सेरोटिन जस्तो दिमागलाई खुसी हुने हर्मोनलाई पनि सक्रिय पार्ने डा.झाको भनाइ छ । स्नायुको गतिविधि बढाई एकाग्रता सुधार गर्ने र कुनै कुराको निर्णय गर्ने क्षमता बढाउने तागत क्याफिनमा हुने उनी बताउँछन्।

हार्डवर्ड विश्वविद्यालयको अध्ययन अनुसार कफीमा हुने क्याफिनमा डोपामाइन उत्पादन गर्ने कोषलाई सुरक्षा दिने उर्जा हुन्छ । जसले गर्दा बुढयौलीमा हुने पार्किसन्स रोगको जोखिम कम हुन्छ।

मस्तिष्क स्वस्थ र तगडा राख्ने होइन । यसले कलेजो सम्बन्धित रोगहरुको जोखिम कम गर्ने अध्ययनहरुले देखाएको छ।

कलेजो स्वास्थ्य सुर्धाछ

जोन्स हप्किन्सको एक रिपोर्ट अनुसार यदि नियमित रूपमा दुईदेखि तीन कप कफी पिएमा यसले कलेजो रोग भएमा त्यसको क्रमश: सुधार गर्दै लाने र यस सम्बन्धी रोग लाग्ने जोखिम कम हुने देखाएको छ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा.अखिलेश कश्यप पनि कालो कफी दैनिक पिउँदा कलेजो स्वस्थ्य हुने कुरामा सहमत छन्। ‘यदि कफीबाट स्वाद र फाइदा पनि उठाउन चाहनुहुन्छ भने दूधसहितको कफीको सट्टा कालो कफी पिउने बानी बसाल्न सकिन्छ’ डा. कश्यप भन्छन्, ‘कालो कफीले कलेजोलाई सुधार मात्र गर्दैन। कलेजोको इन्जाइमहरूलाई सन्तुलित राख्न मद्दत गर्छ।’

यसलाई समर्थन गर्ने अध्ययनहरू पनि छन्। जनरल अफ क्लिनिकल एण्ड एक्सपेरिमेन्टल हेपाटोलोजी मा प्रकाशित अनुसन्धानको रिपोर्टअनुसार यदि नियमित रूपमा मध्यम मात्रामा कालो कफी पिउने बानी बसालियो भने कलेजोसँग सम्बन्धित गम्भीर रोग फाइब्रोसिस र सिरोसिसको जोखिम कम हुनसक्छ।

कफीमा कलेजोको इन्जाइमहरू सुधार गर्ने क्षमता हुन्छ । जसकारण दुई कप मात्र कालो कफी पिएमा यसले कलेजोलाई गाल्ने तत्वहरू कमजोर पार्दै लाने उनी बताउँछन्।

कफी सीमित मात्रामा सेवन गर्नुपर्छ

फाइदा गर्छ भन्दैमा कफीको मात्रा बढाउँदै जाने वा निरन्तर सेवन हानिकारक पनि हुनसक्ने हुँदा सावधान भई पिउन चिकित्सक सुझाव दिन्छन् । कफीको सही मात्राले फाइदा गर्छ, तर अत्याधिक सेवन विषसरह बन्नसक्छ।

दैनिक दुई कप बिना चिनीको कफी खाँदा फरक पर्दैन। बानी पर्‍यो भन्दैमा ३ देखि ४ कपभन्दा बढी कफी पिउनाले कलेजो र मस्तिष्कमा नकारात्मक असर पर्ने डा. कश्यप बताउँछन्।

‘यदि कफीको मात्रा हदभन्दा बढी भयो भने यसले रक्तचाप बढाउने, निद्रा नलाग्ने, मुटुको ढुकढुकी बढाउने र पाचनसम्बन्धी समस्या निम्त्याउने खतरा रहन्छ’ डा. कश्यप भन्छन् ‘बढी कफी सेवनले मस्तिष्कमा असर गर्न सक्छ। अनिद्रा, एन्जाइटी (चिन्ता) र डिहाइड्रेसन जस्ता समस्याहरू आउन सक्छन्।’  कफीको सही मात्रा अपनाउनु जरुरी रहेको डा. झा बताउछन्।

कफीको बढ्दो चलन, सजगता जरुरी

नेपालमा पछिल्लो समय कफी सेवन गर्नेको संख्या उल्लेख्य रूपमा बढिरहेको छ। विशेषगरी युवा पुस्ता कफीलाई स्टाइल र लाइफस्टाइलसँग जोडेर हेर्ने गर्छन्। आजभोलि धेरैको बिहानको साथी बन्ने गरेको छ। थकाइ मेटाउने, उर्जावान महसुस गराउने र जागरण बढाउने भएकाले कफीप्रति आकर्षण बढ्दो छ।

डा. अखिलेशका अनुसार कफी पिउने चलन बढे पनि सही मात्रा मात्रै फाइदाजनक हुन्छ भन्ने कमैलाई जानकारी छ। सही मात्रा पहिल्याउन सके कफीले फाइदा नै गर्छ।

डा. कश्यप भन्छन्, ‘नेपालमा पछिल्लो समय जंक फूड र मदिरा सेवनसँगै कलेजोसम्बन्धी रोग बढ्दो क्रममा छ। यदि कलेजोलाई जोगाउने हो भने, मदिराको सट्टा कालो कफी रोज्नु राम्रो विकल्प हुनसक्छ’

कालो कफीको लत र त्यसले गर्ने बेफाइदा

कफीमा हुने निकोटिन र क्याफिनले लत बसाउन सक्छ । यसको निरन्तर सेवनले शरीरलाई क्याफिनको आवश्यकता महसुस हुन थाल्छ, जुन एक प्रकारको लत भन्न सकिने स्नायु रोग विशेषज्ञ डा. झा बताउँछन्।

उदाहरण दिँदै उनले भने-एकदम राम्रो काम गर्ने व्यक्तिले उर्जाकै लागि अत्यधिक कफी लिन थालेमा त्यो काम गर्न पनि गाह्रो बनिदिन्छ । किनकी क्याफिनको मात्रा बढेमा मुटु हल्लिएको अनुभव हुन्छ । यसले एकैछिनमा कमजोर पार्न सक्छ।

कफी कलेजोका लागि फाइदाजनक भए पनि अत्यधिक सेवन गर्न थाले यसले मिर्गौला र कलेजोको समस्या बढाउन थाल्ने डा. अखिलेश बताउँछन्। त्यस्तै, गर्भवती महिलाहरूले पनि धेरै कफी सेवन गर्न नहुने र उच्च रक्तचाप र मुटु रोगका बिरामीहरूले पनि अत्यधिक सेवनबाट बच्न उनको सुझाव छ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार