जिल्ला स्तरीय अन्डर-१२ फुटबल कप २०८१ कोहलपुरमा सञ्चालन हुँदै




काेहलपुर । नेशनल प्याब्सन बाँकेको आयोजनामा अन्डर-१२ फुटबल कप २०८१ हुन लागेको छ ।

नेशनल प्याब्सन बाँकेको आयोजनामा कोहलपुर २ तेह्र विगाहमा फागुन ४ गतेदेखि ८ गतेसम्म अन्डर-१२ फुटबल कप २०८१ हुन लागेको हो ।प्रतियोगिताको उद्घाटन नेपाल सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नेछन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्लले जिल्ला स्तरीय अन्डर-१२ फुटबल कप २०८१ फागुन ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने बताए । बालबालिकाको शारीरिक रुपमा स्वस्थ राख्न, मानसिक रुपमा मस्त राख्न, संबेगात्मक रुपमा सन्तुलित बनाई राख्न र सामुहिक सहयोगी भावनाको विकास एवम् निर्णय, नेतृत्व क्षमताको आत्मविश्वास जागृत गर्न यस प्रतियोगिताले टेवा पुग्ने अध्यक्ष मल्ले बताए । यस फुटबल प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण व्यक्तित्वहरुलाई आग्रह गरेका छन् ।

यस्तै समग्र विश्वव्यापी रुपमा चर्चा कमाएको फुटबल जगतमा कोहलपुरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अन्डर १२ फुटबल प्रतियोगिता गराउन लागेको नेशनल प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले बताए ।

नेशनल प्याब्सन बाँकेमा ८० वटा विद्यालय आबद्ध रहेको यस प्रतियोगितामा ५५ भन्दा बढिको सहभागिता हुने सचिव चन्दको दावी छ ।

सचिवका अनुसार बाँकेमा ८ पालिकाका ४ वटा विद्यालयलाई टिम दर्ता गर्ने स्थान तोकिएको छ । जस अन्तर्गत कोहलपुरमा जनज्योति पब्लिक हाइस्कुल, राप्तीसोनारीमा महादेवपुरी सनराइज ईमी स्कुल, नेपालगञ्जमा भृकुटी ईमी स्कुल र खजुरामा लिटिल हार्वर स्कुल रहेको छ ।

यस्तै प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, उपविजेतालाई १५ हजार र सेमिफाइनल टिमलाई १० हजार पुरस्कार रहेको छ ।

यस्तै वेष्ट किपर, स्कोरर, डिफेण्डर, मिड फिल्डरलाई प्रति १ हजार रुपैया र उत्कृष्ट खेलाडी (फेर प्लेयर खेलाडी) ५ हजार रुपैया दिने नेशनल प्याब्सनका सचिव चन्दले बताए ।

चन्दका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि ४ वटा नियमहरु रहेका छन् । जसमा खेलाडिका जन्म मिति २०६९ माघ ३० गतेपछि जन्मेको हुुनुपर्ने, सम्पुर्ण खेलाडिहरुको जन्मदर्ताको प्रतिलिपी अनिवार्य रुपमा फारमसंगै पेश गर्नुपर्ने, खेलाडिहरुको सक्कली जन्मदर्ता खेल शिक्षकसंगै हुनुपर्ने र आवश्यक परमा देखाउनुपर्ने, बैँक भौचरको प्रतिलिपी खेलाडि फारमसंगै समावेश गर्नुपर्ने, खेल प्राविधिकलाई कुनै खेलाडिको उमेर हद नाघेको आशंका लागेमा सम्बन्धित खेलाडीलाई खेलबाट रोक्ने अधिकार फुटबल संघलाई दिइएको बताए ।

पत्रकार सम्मेलनमा केन्द्रीय उप महासचिव कुसुम रानाभाट, नेशनल प्याब्सन केन्द्रिय सदस्य श्याम कुंवर, प्रदेश अध्यक्ष कुवेर बस्नेत, प्रदेश सह-कोषाध्यक्ष कमल पछाई, जिल्ला सचिव वेग प्रकाश मल्ल लगायत पत्रकारहरुको उपस्थित भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमबार