नेपाल एपीएफ स्कुलले पाँचौ स्थापना तथा अभिभावक दिवस भव्य रुपमा मनायो (फिचर)




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको नेपाल एपीएफ स्कुलले पाँचौ स्थापना तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।

‘मानव उत्कृष्टताका लागि शिक्षा’ भन्ने मुल नारा सहित बुधबार कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले औपचारिक समारोहका बीच दीप प्रज्वलन उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा बोल्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले अनुशासित नागरिक उत्पादन गर्ने, गुणस्तरीय र प्रभावकारीता शिक्षा प्रदान गर्ने उद्देश्यले स्कुल सञ्चालनमा रहेको बताए ।

‘सशस्त्र प्रहरीले राष्ट्रको सुरक्षा मात्र होइन शिक्षित मानव पनि उत्पादन गर्ने गर्दछ’ उनले भने, ‘सोही अनुसार हामी अघि बढिरहेका छौ ।’ बहुआयमिक क्षेत्रहरुमा बालबालिकाहरुलाई रचनात्मक, अतिरिक्त क्रियाकलापमार्फत जोडेर नयाँ आयाम थप्ने दहालको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख तथा नेपाल एपीएफ स्कुलको पाँचौ स्थापना तथा अभिभावक दिवस समारोहका विशेष अतिथि पूर्णप्रसाद आचार्यले अभिभावक नै बालबालिकाको पहिलो विद्यालय रहेको बताए ।

‘घरपरिवार, अभिभावक र समाजले देखाएको चित्रण र विद्यालयबाट सिकेका विषयहरुबाट नै बालबालिकाको भविष्य निर्धारण हुन्छ’ उनले भने,‘ पछिल्लो पुस्ता कम्प्यूटरको हो ।’

कोहलपुरमा नगरपालिकाले आधारभुततर्फको परिक्षा स्थानीय सरकारले लिन्छ सो गत वर्षको वार्षिक परिक्षामा नेपाल एपीएफ स्कुल दोस्रो भएको उनको भनाई थियो । आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउन नेपाल एपीएफका स्कुलका शिक्षक, अभिभावक र विद्यालय प्रशासनलाई आग्रह गरे ।

यस्तै नेपाल एपीएफ स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठले आगामी दिनमा कोहलपुरको उत्कृष्ट हुने गरी काम गर्ने बताए ।

स्कुलले वर्षभरी सञ्चालन गरेका गतिविधि, वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण र सांस्कृतिक क्रियाकलाप सञ्चालन गरिएको विद्यालयका शिक्षक हरि प्रसाद देवकोटाले बताए ।

साथै वार्षिक परिक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरूलाई मेडलसहित पुरस्कार प्रदान गरिएको देवकोटाले बताए । समारोहमा शिक्षक बन्दना, थारू गीत, स्वदेश गान,मारूनी,सेलो अन्य साँस्कृतिक प्रस्तुति देखाइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रदिप कुमार पाल र सशस्त्र प्रहरी उपरिक्षक लगायत अभिभावक, सरोकारवाला निकाय तथा सुरक्षाकर्मीहरूको सहभागीता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार