राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
मङ्गलबार शीतलनिवासमा आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझ्नुहुँदै उहाँले आदिवासी, जनजाति समुदायभित्र रहेका आदिकविहरूको नाम र शालिक उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
उहाँले आयोगले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातीहरूका आदिकविको नाम र शालिक पाएको खण्डमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले चार सय रोपनी जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको जानकारी दिनुभयो । त्यहाँ बनाइने मूर्ति वाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने उहाँको भनाइ छ ।
‘‘भानुक्तको चुँदीरम्घामा भानु साहित्य उद्यान चार सय रोपनी जग्गा लिएर नेपाल सरकारबाट त्यहाँ एउटा भानु साहित्य उद्यान बनाउँदैछु । त्यहाँ मूर्तिवाटिका हुन्छ ।,’’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘त्यहाँ सबै भाषाका मूर्धन्य श्रष्टाहरू त्यहाँ रहन्छन् । भानुभक्तसहित सबै भाषाका आदिकविको मूर्ति रहन्छ । त्यो को–को हुन्, मगर, राई भाषाका आदिकवि उहाँहरूको नाम र मूर्ति चहियो ।’’
राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपी, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, संवर्द्धन एवम् विकास तथा सो समुदायको सशक्तीकरण गरी सर्वाङ्गिण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानुनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताउनुभयो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्