छत्तीसगढमा भएको भिडन्तमा दुई महिलासहित ५ माओवादी मारिए




छत्तीसगढ । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित विजापुर जिल्लाको इन्द्रावती राष्ट्रिय निकुञ्जमा भएको भिडन्तमा दुई महिलासहित ५ माओवादी मारिएको सुरक्षा बलले दाबी गरेको छ ।

बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीले इन्द्रावती राष्ट्रिय निकुञ्जमा संदिग्ध माओवादीको उपस्थितिको सूचना पाएपछि सुरक्षा बलको टोलीले हिजो खोजी अभियान सुरु गरेको जानकारी दिए ।

आइतबार बिहान सुरक्षा बलको टोली भोपालपट्टनमको मड्डेड क्षेत्रको बन्देपारा–कोरञ्जेड जंगलमा पुगेपछि त्यहाँ शंकास्पद माओवादीसँग भिडन्त सुरु भएको थियो । यो भिडन्त साँझसम्म जारी रह्यो ।

यस अवधिमा सुरक्षाकर्मीले घटनास्थलबाट ५ शंकास्पद माओवादीको शव फेला पारेको दाबी गरेका छन् । मृत्यु हुनेमा पोसाक लगाएका तीन पुरुष र दुई महिला छन् । तर, मारिएका माओवादीको भने पहिचान हुन सकेको छैन ।

यस बाहेक, सुरक्षा बलले घटनास्थलबाट एक एसएलआर, बीजीएल लन्चर, विस्फोटक सामग्री र अन्य सामग्रीसहित धेरै हतियारहरू बरामद भएको पनि बताएको छ । -एजेन्सी

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस २८ गते आइतबार