कोहलपुर मोडेल कलेजमा नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप सर्टिफिकेट कोर्ष सुरु




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर मोडेल कलेजमा नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप कोर्ष सुरु भएको छ । शनिबार कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यता र कोहलपुर मोडेल कलेजका क्याम्पस प्रमुख संजिब बाबु पंगेनीको अध्यक्षतामा नबिल एसएसई सर्टिफिकेट कोर्ष सुरु भएको हो ।

उपप्रमुख संगिता सुवेदीले कोर्षले सुरु गरेका असल उद्यमशिलता सम्बन्धी कामहरु फलदायी भएको भन्दै नगरपालिकाले पूर्ण सहयोग गर्ने बताइन् ।

कोहलपुर मोडेल कलेजका प्रमुख संजिब बाबु पंगेनीले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप सर्टिफिकेट कोर्ष अन्तर्गत पहिलो पटक कोहर्ट कार्यक्रमको सुरुवात गरेको बताए । कार्यक्रमको छनौटको निम्ति आवेदन खुलाएर त्यस आवेदकहरु मध्ये काम गर्ने अठोट भएका व्यक्तिहरुलाई छनौट गरेर पहिलो कोहर्ट को सुरुवात गरेको उनको भनाई थियो ।

यस्तै नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरसिप कार्यक्रम अन्तर्गत फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन छन् ।

फेलोसिप प्रोग्रामको निम्ति स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वबिद्यालयसंगको सहकार्यमा सर्टिफिकेट कोर्सको निम्ति देशभर ७ वटा प्रदेशमा ११ वटा शैक्षिक संस्थाहरुसंग सर्टिफिकेट कोर्ष सञ्चालनमा रहेको बैंकका क्लस्टर हेड सुर्य बहादुर रोकाले बताए ।

नबिल बैंकले समाजिक उद्यमशिलतामा रुची राख्ने, नबिन सोच भएका, तथा उद्यमशिलता क्रियाकलापमा संलग्न नवउद्यमीलाई आवश्यक ज्ञान र मार्ग निर्देशन प्रदान गर्ने उदेश्य राखेर यो कार्यक्रम सञ्चालन गरेको रोकाले बताए ।

‘नबिल एसएसई कार्यक्रमको सर्टिफिकेट कोर्स र फेलोसिप प्रोग्राम मार्फत हालसम्म ५ सय ७४ जना सामाजिक उद्यमी र विद्यार्थीलाई प्रशिक्षित गरिएको छ’, उनले भने, ‘फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स दुवै गरेर १ सय १७ वटा उद्यमको स्थापना भैसकेको छ’ । यो कार्यक्रमले १२ सय भन्दा धेरैलाई रोजगारी उपलबध गराइसकेको क्लस्टर रोकाले बताए ।

सर्टिफिकेट कोर्समा सहभागी हुनेहरुलाई ३ महिनाको अवधिमा १४ दिनको एक्सन–बेस्ड तालिम हुनेछ । तालिममा विभिन्न विषयहरु जस्तै सहभागीहरुले आफ्नो उत्पादनको ब्रान्डिङ्ग, मार्केटीङ्ग र विभिन्न विषयहरुमा प्रशिक्षण हुनेछन् ।

उद्यमशिलताका विभिन्न विषयगत बिज्ञहरुबाट एक्सन–बेस्ड तरिकाले विषयहरुमा तालिम दिइनेछ । क्षेत्रीय वा राष्ट्रिय स्थरमा अनुभव भएका उद्यमी तथा प्रशिक्षकहरु बाट अनुभव साटासाट्, उद्यमशिलताका विभिन्न पक्षहरुमा छलफल गरिनेछ । फिल्ड भिजिट समेत १४ दिन (८४ घण्टा) को हुनेछ ।

सोसिएल इन्टरप्रेनसिप सर्टिफिकेट कोर्ष अन्तर्गत कोहलपुर मोडेल कलेजमा पहिलो कोहर्टमा २५ जना सहभागी मध्ये ८ जना पुरुष र १७ जना महिला छन्, जसमा ४ जना खाद्य तथा पेय पदार्थ, कपडा र फैशन, धार्मिक सामग्री तथा परम्परागत सामान, भण्डारण र वितरण जस्ता क्षेत्रमा संलग्न उद्यमी छन् । सहभागीहरु कोहलपुर, बर्दिया, सुर्खेत, मुगु, जाजरकोट, नौबस्ता, र रुकुमका रहेका छन् ।

यस्तै कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष कल्पना अधिकारी, कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन सुवेदी, घरेलु तथा साना उधोग महासंघका नगर कार्य समिति कोहलपुका महासचिव हेमलाल घिमिरे, नबिल बैंकका कर्मचारी लगायत विद्यार्थी र उद्यमीको सहभागिता रहेको थियो । कलेजका उप प्रध्यापक गणेश प्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ७ गते आइतबार