भगवती पोख्रेल, कोहलपुर ।
कौडिण्य गोत्रीय आचार्य बन्धुहरुको कुलाईन पुजा कोहलपुर -१२ चपरगौडिमा प्राणप्रतिस्ठा सहित सम्पन्न भएको छ । पुर्खाहरु दैलेख जिल्लाको वडालम्जीबाट जुम्ला जिल्ला हुँदै जाजरकोटको जगतिपुरमा बसेर साविकको रुकुम जिल्ला खोलागाउं वडा नं -७ स्यानाखोला हाल चौरजहारी नगरपालिका वडा नं -१२ रुकुम पश्चिममा धेरै समय बसोबास गर्दै आएका आचार्यहरुले कुलाईन पुजा सम्पन्न गरेका हुन ।

कोहलपुर नगरपालिका वडा नं -१२ तथा जानकी गाउँपालिका के गाउँमा बसोबास गर्दै आएका कौडिण्य गोत्रीय आचार्यहरुले कोहलपुर नगरपालिका वडा नं -१३ को रोहिणीखोला कालिका मन्दिर नजिक खोदाई क्षेत्रपाल महाराज र दुधे मस्टाको लगायतका देवताहरु स्थापन गरि निर्माण गरिएको मन्दिरमा कुलपुजा गरेका हुन ।
यस अघि उनीहरुले कोहलपुर नगरपालिका वडा नं -१२ को शान्ति टोलमा कुलपुजा गर्ने गरेका थिए । आचार्य बन्धुहरुले यस वर्ष रु पांचलाख बराबरको लगानीमा नयाँ मन्दिर स्थापन गरि वैदिक विधिपुर्वक मंसिर -२७ गते ७ जना ब्राह्मणद्वारा प्राणप्रतिस्ठान गरि ३० गते कुलपुजा गरेका हुन ।

कुलाईन पुजामा आचार्य बन्धुहरुले बटुभैरव, दारेमास्टा, दुधे मस्टा, खोदाई अंखवाल महाराज, जगन्नाथ, क्षेत्रपाल र बिन्धवासिनी देवता र देविको पुजा अर्चना गर्ने गरेको कुलदेवताका पुजारी पन्डित नन्दकुमार शर्मा आचार्यले वताए ।उनले आचार्य बन्धुहरुमा दुधे मस्टा लाई दूध चढाउने र बिम्धवासिनी लगायत लाई बोकाको बलि दिने प्रचलन रहेको वताए । उनले भने कतिपय कौडिण्य गोत्रीय आचार्यहरुले मार्गशिर्ष शुक्लपक्षका चतुरदशिको दिन पुज्ने गरेको भएपनी दैलेखको वडालम्जीका भाईगोत्रले पुर्णिामाको दिन पुज्ने गरेको जानकारी दिए ।
यसैगरी उक्त पुजाको दिन कुलाईनका पुजारीले दुधको धारा दिने सुसारेले मन्दीरको सम्पूर्ण लिपपोत र पुजारीको सहयोगीको काम गर्ने र मन्दीरमा देवता आई काप्ने समेत गरेको वताए । यो पटक गोपाल प्रसाद शर्मालाई २५ वर्षपछि देवता आई कापेको र भाईसन्तानको भलो एवम् कल्याण हुने वताए ।
कुलपुजामा ब्राह्मण द्वार वेदका ऋचा पाठगरी यज्ञहवन गरि स परिवार, स : भात्री, स : बन्धु सहित ईस्टमित्र र उपस्थित पाहुनाहरु लगायत देशको नागरिक सबैमा सुख, शान्ति, समृद्धि, प्रगति एवम् आरोग्यता प्राप्त हुने भएकाले एक वर्ष अन्तर राखी कुलपुजा गर्ने गरेको आचार्य बन्धुहरुका विद्वान एकराज शर्मा आचार्यले जानकारी दिए ।
उनले भने हरेक भाईबन्धुले अलग अलग चुल्होमा पकाएको पुरी रोटि र संयुक्त रूपमा खिर (पाईस), तरकारी सयुंक्त रूपमा अतिथि एवम् छोरी बहिनी लाई खुवाउने गरेको जानकारी दिए ।
उक्त मन्दिरमा १२ घरमा बसोबास गर्ने नजिकका भाईहरुले पुजा गरेको समेत शर्माले जानकारी दिए । उक्त दिन सोही स्थानमा जाजरकोटबाट बांके र बर्दिया जिल्लामा बसोबास गर्न घृतकौषीक गोत्रीय खनाल परिवारको समेत कुलपुजा गरिएको दिवाकर खनालले कोहलपुर टुडेलाई जानकारी दिए । साथै उक्त दिन रुकुम खोलागाउं निवासी रुकुमेली शाहहरुले समेत कुलपुजा गरेको वडा नं -१२ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्