कोहलपुर शवदाहस्थल निर्माणका लागि ग्लोबल आइएमईले २० लाखको चेक हस्तान्तरण




कोहलपुर ।

कोहलपुर शवदाहस्थल निर्माणका लागि ग्लोबल आइएमईले २० लाखको चेक हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा सोमवार कोहलपुरमा भएको कार्यक्रममा कोहलपुर शवदाहस्थल निर्माणका लागि ग्लोबल आइएमईले २० लाखको चेक हस्तान्तरण गरिएको हो ।

कोहलपुर नगरपालिकाका नागरिकहरुका लागि सरल, सहज तथा कम खर्चिलोमा शवदहन गर्नका लागि कोहलपुर नगरपालिका वडा नं.११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा शवदाहस्थल निर्माणको काम सुरु गरिएको कार्यवहाक नगर प्रमुख सुवेदीले जानकारी दिइन् ।
वातावरण प्रभावलाई समेत मूल्यांकन गरेर कोहलपुरमा अत्याधुनिक शवदाहस्थल बनाउन लागिएकाले सबैको सहयोग आवश्यक रहेको सुवेदीले बताइन् ।

उनले शवदाहस्थलबाट कुनैपनि वातावरणीय तथा स्वास्थ्यसँग सम्वन्धीत असर नपर्ने गरी विज्ञहरुको सुझावकै आधारमा कोहलपुर शवदाहस्थल निर्माण सुरु गरिएको उनको भनाइ छ ।

यस्तै शवदाहस्थल निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाहस्थल निर्माणका लागि सहयोग गर्नुहुने ग्लोबल आइएमईप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

साथै शवदाहस्थल निर्माणका लागि एभरेष्ट बैंकले ५० लाख र ग्लोवस बैंकबाट २० लाख रुपैयाँ प्राप्त भएको र अन्य सामाजिक संघसंस्थाबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको बताए ।

करिव १ करोड १७ लाखको लागत स्टिमेटमा निर्माणको काम भइरहेको छ । अहिले भौतिक संरचना निर्माणको काम भइरहेको पनि अधिकारीले बताए ।

यस्तै शवदाहस्थल व्यववस्थापन समितिका संयोजक विरेन्द्र कुमार शाहले सबैको सहयोग र समन्वयबाट शबदाहस्थल निर्माणको काम प्रारम्भ भएकाले आफ्नो सामाजिक उत्तरदायित्वबाट सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते सोमबार