– विष्णु पोखरेल
“कृषिलाई नै सर्वोपरी ठानियो, के गर्नु, बस्दै गर्नु है” । माछापालन गर्दै गरेका झविन्द्र जी.सी. पोखरीमा पुग्दा जाल तान्दै थिए । करीव आधा घण्टाको बसाईपछि उनी भिजेको शरीरमालाई भेट्न आए । शायद बेलैमा भेट्न नसकेकोमा पछुतो थियो उनीसंग । हतार हतारमा हात मिलाए अनि सुख्खा लुगा फेर्न कोठामा गए । हाम्रा बाबुबाजे पनि किसान नै भएर होला हामीलाई स्वभाविकै लाग्यो उनको कार्यव्यस्तता ।
“के गर्नु काम नगरी बाँच्नै नसकिने, त्यसैले सकेसम्म काममा नै खटिइरहन्छु” । उनले मुश्कुराउदै भने । कुरा स्वभाविकै थियो । कुराकानीको दौरानमा थाह भयो, उनले माछापालन शुरु गरेको ११ वर्ष भइसकेछ ।
वैजनाथ गाउँपलिकाको जी गाउँमा र थपुवामा १२ जना सहयात्रीसंग करिव ३३ बीघा जमीनमा माछापालन शुरु गरे । त्यसबाट माछापालनको ज्ञानमा समेत सिकाई भएको उनले बताए । ‘शुरुमा त मलाई केही नि थाहा थिएन तर काम गर्दै गर्दा माछापालन संवन्धी धेरै कुरा सिकेँ’ उनको सहज उत्तर थियो ।
एकातिर साथिभाईको साझेदारी त छदै थियो, अकोतर्फ आँफूले एक्लै केही गरौ भन्ने हुट्हुटीले पनि छोडेन उनलाई । त्यसैले अर्को कुनै माछापालनको जमिनमा निरन्तर खाजीमा लागिरहे झविन्द्र । अजिङ्करको आहारा दैवले पुर्याउँछ भने जस्तै उनले खोजे जस्तै जमिन पत्ता लाग्यो । त्यो थियो, बैजनाथ ५, गुरुवागाउँको विद्यालयको जमिन । त्यहाँ उनको पहिले नै १३ कठ्ठा जमिन थियो । भाग्य वा संयोग भनौ, त्यही जमिनसंग जोडिएको नेरामाबिको पनि जमिन रहेछ ।
त्यसैले सोही जमिनमा माछा खेती गर्ने मनसाय बनाए जि.सी.ले । नभन्दै विद्यलयसंग पनि कुरा मिल्दै गयो । वार्षिक १ लाखमा करीव साढे चार बिघा जमिन माछापालनका लागि दिने भनी विद्यालय प्रसाशन तयार भयो । जि. सी. परिवार हौसलापूर्वक माछापालनमा सामेल भए ।
आफ्नो र विद्यालयको गरी करीव ५ बीघामा उनको माछापालन खेती रहेको छ । आजभोली दैनिक ४ देखि ५ क्वीन्टल माछा पोखरीबाट नै विकृ हुने कुरा उनले सुनाए । समय र मौसमले साथ दियो भने यसबाट १५ देखि २० लाख रुपैयाँ आम्दानी हुुने उनको अनुमान रहेको छ । ‘कृषि पेशामा कुनै निश्चितता त हुँदैन, यदि भने जस्तो भयो भने कमाईमो राम्रै आशा गरेको छु ।’ गंभीर भावमा उनले सुनाए ।
जव जव माछा निकाल्ने मौसम आउँदछ, भारतीय माछाको कारण बजारमा संकट रहेको कुरा पनि उनले बताए । सकि नसकी बैकबाट ऋण लिएर काम गर्यो, बिक्रीको समयमा भारतीय माछा गैरकानुनी रुपमा आउँदछन र हाम्रो बजार नै तहस नहस गरिदिन्छन । रसायन हालेका माछाले बजारलाई प्रभाव पारिरहन्छ ।
‘मापदण्ड अनुसार माइनस १८ डिक्री सेण्डिग्रेटमा मात्र बजारको माछा बेच्नुपर्ने हुन्छ तर यहाँ सामान्य ताक्रम भएको, पानी चुहिने माछा दिन रात विक्री भइरहेछ।’ राम्ररी नियमन गर्ने निकाय नहुँदा निकै कष्ट सहनु परेको कुरा उनले सुनाए । के गर्ने ग्राहकहरु सस्तो मात्र खोज्दछन् ?, तर गुणस्तरीय माछा चिनाउन अहिलेसम्म सकिएन उनले गुनासो गरे । भारतबाट मानव स्वास्थ्यलाई असर गर्ने माछा दैनिक रुपमा गैर कानुनी हिसावले भित्रिरहेको र त्यसलाई रोक्न यहाँको जिम्मेवार निकायले नसकेकोमा उनीमा आक्रोश देखिन्थ्यो ।
उनले माछापालनको क्रममा धेरै व्यवहारिक ज्ञान र अनुभव आर्जन भएको कुरा समेत सुनाए । माछालाई चाहिने अक्सिजनको लागि चाहिने एरोगेटर जुन बजार मूल्य ८० हजार पर्दछ लाई उनले २० हजारमै तयार गरी प्रयोग गर्दारहेछन् । त्यस्तै पोखरीमा माछालाई चारा हाल्दा एक ठाउँबाट अर्को ठाउँ जाने डुङ्गा पनि स्थानीय श्रोत र साधनको प्रयोग गरी बनाएका रहेछन् । कुनै माछापालन किसानले यस्तो खालको सहयोग मागेमा निःशुल्क सीप हस्तान्तरण गरी सहयोग गर्न सक्ने कुरा पनि उनले बताए ।
रातोदिन माछापालनमा लागेका किसान जिसीसंग केही गुनासा पनि रहेछन् । सरकारले कृषिबाट नै नेपालको संवृद्धि हुने कुराको नारा लगाए पनि कृषकलाई आवस्यक पर्ने साधन, श्रोत र उपकरण उपलब्ध गराउन नसकेको उनको कथन छ । माछाका भुराका लागि बाँकेको सशेरगञ्ज, धनगढीको गेटा, भैरवा र तरहराको नाम दिइएता पनि आवस्यक हुँदा र समयमै कहिल्यौ माछाका भुरा पाउन सकिदैन । त्यसैले भुरा भारतको कलकत्ताबाट ल्याउनु पर्ने वाध्यता उनले सुनाए । ‘यसरी पनि कसरी नेपालको संवृद्धि होला र’ उनको प्रति प्रश्न थियो ।
सबै थरिका मासु मध्ये सबै भन्दा राम्रो र स्वस्थ्यकर मासु माछा नै भएको तर यसको गुण र फाइदाको बारेमा आम जनमानसमा जानकारी गराउन नसकिएको पनि जि सी ले बताए । उनका अनुसार जमिन भएमा करीव ५ कठ्ठामा प्रत्येक नेपालीले माछा पालन गर्न सके, वर्षभरी नै एक परिवारले मासुको लागि बाहिर जान नपर्ने र कुनै विषादीको समेत असर नहुने सल्लाह दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्