सुदाम शर्मा, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालय र पश्चिम अष्ट्रेलिया स्थित एक विश्वविद्यालयका प्राध्यापक बीच सहकार्यका लागि छलफल सम्पन्न भएको छ । पश्चिम नेपालको सुर्खेतमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयको टीमसँग पश्चिम अस्ट्रेलियाको पर्थस्थित एडिथ काउअन विश्वविद्यालय स्कूल अफ एजुकेसनकी प्राध्यापक तथा अनुसन्धानकर्ता डा. सिमोनी पोगोर्जेल्स्कीले सोमवार दुई विश्वविद्यालयका बीच आगामी दिनमा गर्न सकिने सहकार्यका सम्भावित विषयवस्तुमा केन्द्रित रही शिष्टाचार भेटसँगै छलफल भएको छ ।

वीरेन्द्रनगर, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयमा पोगोर्जेल्स्कीले अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवाली, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का, विश्वविद्यालय तालिम इकाई प्रमुख कल्पना पौडेल र विश्वविद्यालयका सूचना अधिकारी एवम् निर्देशनालयका प्रशासन प्रमुख शेरबहादुर केसी सम्मिलित टोलीसँग आगामी दिनमा गर्न सकिने शैक्षिक सहकार्यका सम्भावनामा केन्द्रित रही छलफल भएको हो ।

भेटका अवसरमा विश्वविद्यालयका तर्फबाट कार्यकारी निर्देशक डा. ज्ञवालीले आगामी २०८३ साल वैशाख ११-१३ तदनुसार २४-२६, अप्रिल २०२६ का लागि तय गरिएको मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक दोस्रो अन्तरराष्ट्रिय सम्मेलनका बारेमा जानकारी सहित आवश्यक सहयोग तथा समन्वयको लागि अपिल गरेका थिए । योजनाका कार्यकारी निर्देशक डा. खड्काले नेपालको पश्चिम क्षेत्रमा अवस्थित मध्यपश्चिम विश्वविद्यालय र अष्ट्रेलियाको पश्चिममा अवस्थित उक्त विश्वविद्यालय बीच गर्न सकिने आपसी अनुसन्धान, प्रकाशन, प्राध्यापक-विद्यार्थी कर्मचारी आदानप्रदान लगायत शैक्षिक सहकार्यका सम्भावित विषयवस्तुमा पोगोर्जेल्स्कीसँग मैत्रीपूर्ण छलफल भएको थियो ।

यसैबीच पोगोर्जेल्स्कीद्वारा सोमवार विहान मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्र्याजुएट स्कूल अफ एजुकेसन केन्द्रीय विभाग सुर्खेतमा स्नातकोत्तर तहमा अध्ययनरत अंग्रेजी शिक्षा विषयका विद्यार्थीहरूलाई पठन बानी विकास सम्बन्धी अतिथि कक्षा प्रदान गरिएको अंग्रेजी शिक्षा केन्द्रीय विभागका प्रमुख विमल नेपालीले जानकारी दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्