श्राद्धको महिमा, विधि प्रक्रिया र किन गर्ने श्राद्ध ?




हिन्दूधर्मलम्बीहरु वा ॐ कार परिवारले भाद्र महिनाको कृष्णपितृपक्षको पूर्णिमाको दिन देखि आफ्ना पितृहरुको लागि १६ दिनमा पर्ने तिथिमा पितृहरु लाई तर्पण, अन्नदान र पिण्डदान गरी स्मरण गर्ने चलन रहेको छ । यो परम्परा सदियौ वर्ष देखि यो परम्परादेखि चलिआएको हो । यो समयमा आफ्न पितृहरु जुन तिथिमा मृत्य भएको हो सोहि तिथिमा श्राद्द गर्ने गरिन्छ । हामी हिन्दु धर्मलम्बी भएकाले हाम्रा मूख्य संस्कृति लाई परम्परा देखि अंगिकार गर्दै आईरहेका छन् ।

हामीले षोडशसंस्कार विहान देखि साँझसम्म गर्ने नित्यकर्म र देवकार्य, पितृकार्य सदाचार गर्ने प्रचलन छ । हिन्दु दर्शनमा विद्दानको राय लाई आधार मान्दा हिन्दू भन्नाले भगवान र उहाँका अंश राजा (इन्द्र, पवन, यम, सूर्य, अग्नि, रुण, चन्द्र, कुवेर) आठ दिक्पालहरुको अंश लाई मानिएको छ । वेद, गुरु, गायत्री, गीता, गाई ग·ामा आस्थावान र ॐ लाई मूलमन्त्र ठान्ने लाई मानिन्छ । यसले पूर्व जन्म एवम् पुर्नजन्ममा विश्वास राख्ने लाई हिन्दू मानिन्छ । एक हिन्दू भएर जन्मिने केवल संयोग मात्र हाईन ।

पूर्व जन्मको संस्कार कर्म तथा मृत्यु संस्कार पनि भगवानको विशेष अनुकम्पा पनि हो । सृष्टि पालन संहारगर्ने र यस कर्मको निरन्तरता प्रदान गर्ने अदृश्य शक्तिको नाम आफैमा भगवान हो । यस शाश्वत सत्यको बोधगरेर लोक र परलोकको सुधार एवम् परिमार्जन गर्नका लागि हामीले स्वच्छ र स्वस्थ जीवनयापन गर्न सक्नु पर्दछ । जन्मे देखि मृत्यु पर्यन्त र मृत्यु पश्चात वार्षिक श्राद्ध र एकोदिष्ट गर्ने परम्परा रहेको छ ।

श्राद्ध शब्दको अर्थ के हो ? श्राद्धमा कसरी कसरलाई तिलानी, अन्नदान र पिन्डदान कुन क्रममा दिने?

वास्तवमा श्राद्ध शब्दको अर्थ के हो ? श्राद्ध कति थरिका हुन्छन् र श्राद्धमा कसरी कसरलाई तिलानी, अन्नदान र पिन्डदान कुन क्रममा दिने? भन्ने जान्नु प्रासंङ्गीकै होला, कात्यायनस्मृतिमा “श्राद्ध वा पितृयज्ञः स्यात्” भनि श्राद्धलाई पितृयज्ञ भनिएको छ । भविष्यपुराणका अनुसार देश काल पात्रमा श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणहरूलाई दिनु श्राद्ध भनिएको हो । श्राद्धकल्पका अनुसार प्रेत र पितृलाई आफूलाई मनपर्ने वस्तु श्रद्धाले दिनु श्राद्ध भनिएको छ । हेमाद्रि र श्रीधरका अनुसार होम पिण्डदान ब्राह्मण भोजन श्राद्ध हो ।

होम नहुने एकोदिष्ट आदिलाई लक्षणबाट श्राद्ध मान्नु पर्दछ भनेका छन् । विधिपूर्वक पितृले तृप्तिका निमित्त देश काल् सत्पात्रमा गरिने ब्राह्मण भोजन तर्पण पिण्डदान होम आदि श्राद्ध शब्दको अर्थ हो महालय मर्यादा यस्तो छ होमाश्च पिण्डदानं च तथा ब्राह्मण भोजनम्। श्राद्ध शब्दाभिधेयं स्यादेकस्मिन्नौप चारिकम् ।। अर्थात होम पिण्डदान ब्राह्मण भोजन यी ३ लाइ श्राद्ध भनि एउटा मात्र गरेमा २० पनि लक्षणा वृत्तिद्वारा श्राद्ध नै मान्नु पर्दछ । “श्रद्धया क्रियतेयत्र तच्छ्राद्ध परिकीर्तितम् ।

अर्थात् पितृको उदेश्यले जो कार्य श्रद्धापूर्वक गरिन्छ त्यसैलाई श्राद्ध भनिन्छ । देशे काले च पात्रे च श्रद्धया विधिना च यत्।  पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाद्भुतम अर्थात् देश काल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राह्मणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यसबाट पितृहरूको उद्देश्यले गरिने कर्म श्राद्ध हो । कुर्यादहरहः श्राद्धमन्नाद्येनोदकेन वा । पयोमूलफलैर्वापि पितृभ्यः प्रीतिमावहन् ।। अर्थात् पितृ देखि प्रीति चाहने व्यक्तिले खाद्य पदार्थ जल तिल फल मूल दूध आदि जे मिल्दछ त्यसले पञ्चयज्ञ मध्ये पितृयज्ञमा श्राद्ध गरोस यही नै पितृको लागि लाभदायक हुन्छ । श्राद्ध र पिण्डदान दिँदा क्रमनुसार दिनु पर्दछ सो यस प्रकार छ :

ताताम्बात्रितयं सपत्नजननी मातामहादित्रयं सस्त्रिस्त्रीतनयादितातजननी स्वभ्रातरस्तत्स्त्रियः ।

ताताम्बात्मभगिन्यपत्यधवयुग् जायापिता सद्गुरुः शिष्याप्ताः पितरो महालयविधौ तीर्थे तथा तर्पणो ।।

महालय श्राद्ध, एकोदिष्ट श्राद्ध, तीर्थ श्राद्ध तथा तर्पण पिण्ड पानी दिने रोल मर्यादाक्रम क्रमशः यस्तो छ

१. पितृ (वावु), पितामह (वाजे), प्रपितामह (बुढा बाजे वा वराजू) माता –आमा), पितामही (हजुरआमा), प्रपितामही (बुढी हजुरआमा), सपत्नी माता (सौतेनी आमा) २. मातामह (आमाको वावु), प्रमातामह (आमाका वूढा वावु), वृद्ध प्रमातामह (आमाका जिज्यु वावु), आमाकी आमा, बूढी आमा, जिजुमुमौ दिए पनि हुन्छ अथवा मातामही, प्रमातामही, वृद्धप्रमातामहीलाई पृथक अथवा सपत्नीक भनि दिएपनि हुन्छ । ३. आफ्नी पत्नी र छोरा छोरीहरूलाई दिने । ४.जेठा वावु देखि लिएर कान्छा वावु सम्म, मामा, आफ्ना दाजु भाईलाई दिने, यिनीहरूको पत्नीको मृत्यु भएको छ भने सपत्नीक भनि दिने । ५. फुपू ठूली आमा, सानी आमा, दिदी, वहिनीलाई दिने, तिनका पति र छोरा जीवित नभए सभर्तृका सपुत्रका भन्ने, ६. ससुरा, गुरु, शिष्य, मान्यजन, राजालाई पनि दिने । एतासु सतीसु नतद्भर्गादे दानम् फूपु, ठूली आमा, सानीमा, दिदी, वहिनी जीवित भएमा यिनका पति, पुत्रलाई पिण्ड पानी दिन हुँदैन । (द्वारलोपात्) । जायापिताश्वसुरः श्वश्रूरप्यत्रोपलक्ष्या, ससुराबाट सासुलाई पनि लिनु पर्दछ जेठा वावु, कान्छा वावु, जीवित भएमा जेठी आमा, कान्छी आमालाई पिण्ड पानी दिनु हुँदैन । त्यस्तै दाजू, भाइ, जीवित भएमा भाउजु बुहारीलाई पनि पिण्डपानी दिन हुँदैन (द्वारलोपात्) भन्ने भएतापनि व्यवहारमा पिण्डपानी दिने चलन छ ।

गीतामा उल्लेख गरिएको श्राद्धको चर्चा

“कर्मभूमिरियम” यो कर्मको क्षेत्र हो र विश्वकर्ममय हो । कर्मको कारण विश्वरचनाको आधार हो । यो ब्रहण्डको कर्म कै कारणमा खडा भएको हो । किनकि स्वयम् भगवान आफैमा कर्मशिल हो । भगवान श्रीकृष्णले गीतामा अर्जुनलाई वताउनु भएको छ कि हे अर्जुन मेरा निमित्त तीनै लोकमा केहि पनि कर्तव्य छैन । कुनै अप्राप्त वस्तुलाई कर्म गरेर प्राप्तगर्नु छ नै कर्म गर्नु हो । म त यो लोकको रक्षाको लागि कर्मानुष्ठानमा लागिरहने छु । श्रीकृष्ण भगवानले अर्जुनलाई गीतामा कर्मयोग नै सर्वश्रेष्ठ हो फलको इच्छा नराखी कर्मयोग नै तिमी गर भनेर विभिन्न तरिकाबाट वताएको देखिन्छ । श्रीकृष्ण भगवानले अर्जुनलाई गीतामा कर्मयोग सर्वश्रेष्ठ भएको आधार लाई स्पष्ट पार्दै त्यसको कुनैपनि कर्मको फलको इच्छा नराखी कर्मयोग गर्ने तर्क दिएका थिए । वास्तवमा हिन्दू धर्ममा कर्म तीन तरिकाले वताईएको छ जुन नित्य, नैमित्तिक र काम्य छन् । नैमित्तिक कर्ममा विशेषगरी पितृकार्य जसमा विभिन्न श्राद्धको विषयहरु रहेका छन् । जसमा महालयश्राद्ध, एकोदिष्टश्राद्ध, गयाश्राद्ध, पार्वणैकपार्वण श्राद्ध, तीर्थश्राद्ध गरी विभिन्न छन् । तर आश्विन कृष्ण पितृपक्षमा गरिने श्राद्धलाई महालयपार्वण श्राद्ध भनिन्छ ।

औसी तिथिमा र आश्विन कृष्णपितृपक्षमा मृत्यु भएकाको तिथि श्राद्ध लाई एकपार्वण श्राद्ध भनिन्छ । तर नेपालको गोकर्णेश्वर महादेव स्थान वा उत्तरगया सप्तकोशी मिलेको स्थान बेत्रावति, बराह क्षेत्रको विष्णुपादुका र भारतको पुनः पुनः गया, गयामा फल्गु, अक्षयबाट, हरिद्धारमा कुसावर्त, केदारनाथमा हंशकुण्ड, बद्रिनाथमा ब्रह्माकपाली जस्ता ठाउँमा गरिने श्राद्ध लाई गया श्राद्ध भनिन्छ । काम गराउदा भनिएको छ कि “पितरो वाक्य मिच्छन्ति भाव मिचन्ति देवता” अर्थात पितृहरु वाक्यको ईच्छा गर्दछन् । यदि वाक्य मिलेन भने श्राद्ध गरेको अर्थ हुदैन । देवताहरु लाई केवल सद्धाभाव गरेमा मात्र पुग्ने गर्दछ तर पितृलाई वाक्य शुद्धता चाहिन्छ । हाम्रा पुर्खा अत्री, वशिष्ठी महर्षिहरुले कठिन तपस्याबाट शुद्ध गराएर अर्थ लाई बुझाउन धर्मशास्त्र र पुराणहरु बनाएका हुन् । हाम्रा कर्मपद्दति निकै उत्तम छन् ।

हाल मिति २०८१ साल आश्विन महिनाको १ गतेदेखि श्राद्धको काम वा पितृपक्ष सुरु भएको छ । यसको महिमा लाई सारमा यसरी चर्चा गरिएको छ । जसमा श्राद्ध गर्ने अघिल्लो दिन कपाल मूण्डन गरेरस्नान गरी एकछाक (एकछक्की) खाना खाने गर्नु पर्दछ । भोलिपल्ट आप्mना ब्रहमण लाई बोलाएर विधि विधानले श्राद्ध गर्ने गरिन्छ । श्राद्ध गर्दा मूख्य दुई आधार लाई व्याख्या गरिन्छ । जसमा विहान उठेर स्नान गरी गाईको पिसावद्धारा निर्मित पञ्चगव्य तयार गरी ब्रहमणको वाक्यद्धारा श्राद्धभूमिमा शूद्द कपडामा बस्ने र ब्रहमनको हात पाउ धोएर शूद्दासनमा बसाल्ने । अनि कूशका पवित्र, मोटक र टूक्रा तयार गरेर सुरु गर्ने ।

श्राद्ध सुरु गर्दा सुरुमा तर्पण गरिन्छ । त्यसपछि अन्नदान र पिण्डदानको काम गरिन्छ । यो किन र केको लागि हो भने ब्रहमादेखि स्तम्बपर्यन्त जो सुकै पनि चराचर रहेका छन् । ति सबै मैले दिएको तर्पण वा जलले तृप्ति प्राप्त गरुन भन्ने हो । जे सुकै वृक्ष, लता, पहाड देवता पशुपंक्षी आदिले एक ठाउँबाट अर्को ठाउँमा हिडडुल गरी हामीले दिएका तर्पण वा पानीले तृप्त रहुन भन्ने हो । पितृलाई शास्त्रको विधानले श्राद्धतर्पण गर्दा तृप्तिका साथै श्राद्धगर्ने छोराबुहारी एवम् सन्तानको आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष तथा सुखका फलहरु प्राप्त हुने र पितृऋणहरु मूक्त हुने गर्दछ भन्ने आधार

पिन्ड प्रदान गर्ने तरिका, श्राद्ध स्थान कहाँ र कसरी गर्ने ?

पितुः पुत्रेण कर्तव्याः पिण्डदानोदक क्रियाः । प्रजा भावेतु पत्नीस्यात्पत्न्या भावेतु सोदरः । अर्थातः बाबुको पिण्डदानादि कर्म छोराले गर्नु पर्छ । छोरो नभए स्वास्नीले गर्नु स्त्री र पुत्र दुवै नभए सहोदर दाजु या भाइले गर्नु, गोगजाश्वादि जुष्टेषुकृत्रिमायां तथा भुविः । नकुर्याच्छ्राद्धमेतेषु पारक्या दिषु भूमिषु । सूक्त र अर्थात गाई हात्ति घोडा बसेको ठाउँमा खनजोत गरेको ठाउमा अर्काको स्तकमा घरजग्गामा श्राद्ध नगर्नु भनिएको छ । शुद्ध विवाहिता पत्नीले पाक्य बनाउनु पत्नी नभए आफ्ना बन्धुले बनाउनु तर ल्याईतेले भने पकाउनु हुँदैन । आर्दाऽऽमलक मात्राँस्तु पिण्डान्कुर्वीत पार्वणे । एकोद्दिष्टे विल्वमात्रं पिण्डमेकन्तु कारयेत जसको अर्थ नसुकेका अमलाजत्रा पार्वणश्राद्धमा, बेलको फल जत्रा र एकोद्दिष्ट श्राद्धमा एक पिण्ड बनाउनु पर्छ । पहिले सम्बन्ध नाता अनि गोत्र अनि नाम अनि बसु, रुद्र्र आदित्य स्वरूप कमैले सङ्कल्प मिलाउनु पर्दछ । ब्राह्मणलाई बोलाएर आदरपूर्वक पूजा गरेन भने ज्यादैकष्टदायी पशु योनिमा जन्मनु पर्नेछ ।

मत्स्यपुराणमा उल्लेख गरिएको छकि प्रत्यङमुख–स्थितः कुर्याद्विप्रापादाभिषेचनम्म् (पारासरमृत्यान्तरे) पाद प्रक्षालनं प्रोक्तं मुपवेश्यासनेद्विजान । तिष्ट्येक्षालनं कुर्यान्निराशाः पितरोगताः यसको अर्थ हो कुशको औठी नलगाईकन जल नचढाउनु, पितृआदिको कर्ममा ब्राह्मणको पाठ खाली भूमिमा नधुनू, नधोईकन कर्म नगर्नु ब्राह्मणको, ब्राह्मणको पाउ धुनका लागी लाई आसनमा राखी धुनु, उठेका ब्राह्मणहरूको पाउ धोएमा निराश भएर पितृहरू फर्कन्छन् । पिण्ड पकाउने भाडाको विचार गर्नु पर्दछ । पिण्ड पकाउदा सुन, चाँदी, तामा, काँश, नयाँमाटोको भाँडामा पकाउनु हुन्छ भनी विद्वानहरूले भनेका छन्न् । पित्तल रांगको पनि कहि कहि विधान छ । फलामे भाडाहरू कुनै पनि लगाउनु हुँदैन । पितृकार्यमा फलामको भाडाँहरू देख्न पनि पितृहरू भाग्दछन् ।

तर्पणकोद्दिष्ट पार्वणैकपार्वण तीर्थश्राद्ध विधिः

श्राद्धको दिनमा, द्वादशी, पूर्णिमा, संक्रान्तिको दिनमा नुहाएको बस्त्र तर्पण नगरी ननिचोर्नु वा नधुनू यसरी निचोर्नाले र धुनाले पितृहरू निरास भएर भाग्दछन् । आफ्ना पितृहरू मरेको तिथिमा प्रत्येक वर्ष धन भोक्ताले श्राद्ध गर्नु पर्दछ यदि गरेन भने तामिश्र नाम गरेको घोर नरकमा पर्नु पर्दछ । दक्षिण दायाँ घुँडा तल गरेर घुडा मारेर सदैव देवताको पूजा गर्नु बायाँ घुडा तल गरेर घँुडा मारेर पितृको कार्यगर्नु वस्तुलाई नपखालिकन नछोवास, मातृभाषा नबोलोस, देवकार्य, पितृकार्य दुवैमा नचाहिने कुरा नबोल्नु नगर्नु र सवै जपहोमादि कर्ममा मौन भइ गरेमा संपूर्ण फलप्राप्त हुन्छ । जपहोम आदि गर्दा झुक्केर बोल्यो भने विष्णुको मन्त्र जप्नु वा विष्णुलाई सम्झनु । जसलाई सम्झदा जसको नाम लिदा तपोयज्ञ आदि कर्ममा विधि नपुगेपनि त्यो कर्म पूरा हुन्छ । त्यस्ता अच्युत भगवानलाई सधै नमस्कार गर्दछु ।

श्राद्धको प्रारम्भमा, मध्यमा र अन्त्यमा ॐ यस्यस्मृत्या च नामोक्त्या आदि मन्त्र पढनु पर्दछ । तीन चोसे गर्नु । वैश्यको भए बाटुलो बनाउनु शुद्रको भए पानीमात्र आपोश्नं वामभागेतु सुरापान समं भवेत ब्राह्मणको दायाँ पट्टि जल चढाउनु । वायाँपट्टी जल चढाउनाले मदिरापान समान हुन्छ । दायाँपट्टी जल चढाउनाले अमृतपान बराबर हुन्छ । आफूले रामगीता पाठ गर्दै जसले ब्राह्मणलाई भोजन गराउँदछ । त्यसका सबै पितृहरू विष्णुको परम्पदमा प्राप्त हुन्छन् । तुलसी पत्र, चीनी, दुध, ध्यू, अन्न, मह, तिल, भागीरथीको जल, यति आठ चिज हालि पिण्ड बनाउनु । आशौचको कारण वा अरु कुनै बिघ्न आइ परेर श्राद्ध रोकिएमा वा कृष्ण पक्षको एकादशीमा गर्नु भन्ने विशेष वाक्य छ ।

श्राद्धको महिमामा उल्लेख गरिएको छ ।

यदि कसैले शास्त्रको विधि विधान विपरित श्राद्ध तथा तर्पण गर्दछ भने पितृहरुका लागि सो पिण्ड र जल मिल्दैन । श्राद्धको कारण उनीहरुमा सन्तान लाई पनि श्रेय रहदैन । त्यसकारण विधि विधानमा रहेर मात्र श्राद्ध गर्नु पर्दछ । प्रत्येक छोरा आफना आमा बाबुबाट लालन पालन भएर हुर्केका छन् । शिक्षा पाएका छन् । आफना माता पिताप्रति ऋणी छन् त्उसको मुक्तको लागी पनि श्राद्ध अनिवार्य गर्नुपर्ने आधार भविष्य पुराणमा उल्लेख छ । शास्त्रका अनुसार छोराले यो ऋण अवश्य तिर्र्नेकाम गर्नु पर्दछ । हरेक छोराबुहारीले मातापिता तथा सासु ससुराको सेवा गर्नु र अन्त्य कालसम्म पनि सेवाभाव एवम् भक्ति गरेर बुढेसकालमा पालनपोषण गर्ने काम गर्दा आर्शिवाद प्राप्त गर्न सकिन्छ । मृत्यु पछि पनि पनि काजक्रिया दशगात्रादिको काम गर्नु अनिवार्य छ ।

एकवर्ष सम्म नित्यकर्म गरी वार्षिक गर्नु आवश्यक छ । त्यसपछि मात्र हरेक वर्षका मरेको पक्षको तिथिमा एकोद्दिष्ट श्राद्ध गरेर मात्र माहालय श्राद्ध गर्नु पर्दछ । उक्त एकोदिष्ट श्राद्धपछि महालय श्राद्ध अनिवार्य गर्नु पर्दछ । यसका लागी कसैकसैले दुईपटक एकोदिष्ट श्राद्ध गरेर मात्र महालय श्राद्ध गर्ने आधारहरु दिएका छन् त्यो गलत हो । ॐ नमोवः पितरोरसाय नमोवः पितरः शोषाय नमोवः पितरो जीवाय नमोवः पितरः स्वधायै नमोवः पितरोघोराय नमोवःपितरो मन्यवे नमोवःपितरः पितरोनमोवोगृहान्नः पितरो दत्तसतोवः पितरो देष्मैतद्धपितरोव्वासùआधत्त ।। यो पढेर घरतिरका मातामह, प्रमातामह, बृद्धप्रमातामह र मामा घरतिरका मातामही, प्रमातामही र बृद्धप्रमातामही लाई तिलानी अञजुली दिएर सम्झने कामगर्नु पर्दछ । तर कतिपयले बाबु जिवीत हुँदा आमाको मृत्यु भएमा आमालाई पिन्डदान नगर्ने भन्ने भनाइरहेको भएतापनि आमा झन जननी माता भएकोले तिलानी, अन्नदान र पिन्डदान दिनु पर्दछ । अन्य भनाई गलत प्रचलन रहेको भविष्यपुराणमा उल्लेख गरिएको छ । श्राद्ध जेठोछोराले गरेमा अन्य छोराहरुले नगरे हन्छ भन्नुपनि गलत हो । किनकी सबै छोराहरुले बाबु आमाको अंश अनिवार्य खाएका हुन्छन् त्यसको लागी र आफनो नैऋत्य कर्मको लागी पनि सबैले अनिवार्य श्राद्ध गर्नु उपयुक्त हुन्छ ।

अर्काे भनाई रहेको छ छोराहरु मानो लिएर अलग भएमा एकैस्थान वा एउटैको घरमा श्राद्ध गर्दा हुन्छ भन्ने प्रचलन रहेकोमा भविष्यपुराणमा यस्तो उल्लेख गरिएको छ कि यदि छोरा बुहारीहरुले बाबुआमाको अंश लिएर अलग भएपछि पितृहरु पितृपक्षमा हरेक छोराहरुको घरमा आउने हँुदा सबैले अलग अलग गर्नु राम्रो मानिन्छ । तर एकै स्थानमा गरेको भएपनि आफनो घरको सिधापानी अनिवार्य मिसाउने गर्नुपर्दछ ।

हरेक छोराबुहारीले श्रद्धापुर्वक शास्त्रनुसार श्राद्ध गर्नु पर्दछ । श्राद्धगर्दा मन, वचन र कर्मले आत्मादेखि श्रद्धाका साथ गरिएको श्राद्धको कारण पितृहरुले ग्रहण गर्ने र आफुहरुमा पनि पितृऋणबाट मुक्त भईन्छ । जसबाट पितृहरुले आर्शिवाद प्रदान गरी धन, विद्या तथा सन्तान समेत प्राप्त हुन्छन् । यदि यो अन्धविश्वास मानेर श्राद्ध नगर्ने हो भने त्यो छोराको घरआँगनमा तिथिको दिन पितृहरु आउने र श्राद्ध नगरेको देखेपछि लामो श्वास लिएर निरास हुदै फर्केर जान्छन् । जसको कारण पितृहरुले लिएको लामो श्वासले छोरा बुहारीको घरसन्तानको समेत नोक्सान हुन्छ । जसको फलरुवरुप निसन्तान, गरिबी, ख्याउटेपन, अतृप्ति समेत हुने आधार भविष्य पुराणमा गरिएको छ ।

किन गर्ने श्राद्ध

छोराले दिएको जल, अन्न र पिण्ड दान परलोक भएका मातापिता आदिले प्राप्त गर्दछन् । यो कुनै रुढिवादी नभई धार्मिक अनुष्ठानको चर्चा हो र कर्मको आधार हो । कुनैपनि मानिसले आफु वर्तमानमा भउको धन, सम्पति, मानमर्यादा सम्झेर रुढिवादी ठानेमा त्यसको कुनैपनि बेला घमन्ड तोडिने र श्रापमा पर्ने आधारहरु भविष्य पुराणमा उल्लेख छ । आज हामीले हाम्रो धर्म, संस्कार र परम्परा लाई विर्सने र लत्याउने गर्दा संसार आफैमा नष्ट हुन्छ । जसको उत्तर निर्णयसिन्धुमा यसरी गरिएको छ हेमाद्रिवृह धर्म शास्त्रमा हवाला दिदै यसरी चर्चा गरिएको छ : नामगोत्रं पितृणांतु प्रापकं हव्यकव्ययोस् ।। अग्निष्वात्तादयस्त्तेषामाधिपत्ये व्यवस्थितास् ।।१।। नाममन्त्रास्तदादेशाभवान्तरगतानपि ।। प्राणिनस् प्रीणयन्त्येव तदाहारत्वमागतान् ।।२।। देवोयदिपिताजातस् शुभकर्माऽनु योगतस् ।। तस्यान्नममृतं भूत्वा देवत्वेऽप्यनुगच्छति ।।३।। गान्धर्वे भोगरुपेण पशुत्वे च तृणं भवेत ।। श्राद्दान्नं वायुरुपेण नागत्वेऽप्यनु गच्छति ।।४।। पानंभवतियक्षत्वेराक्षसत्वे तथाऽऽमिषम ।। दनुजत्वे तथा मद्यं प्रेतत्वे रुधिरोदकम् ।।५।। मनुष्यत्वेऽन्नपानादि नाना भोगरं भवेत् । यसको अर्थ हो, नामगोत्र मन्त्र आदिलेको साहाराले परलोकमा पुत्रादिले श्रद्धा र भावका साथ अर्पण गरेका हव्यकव्य आदि अग्निष्वाता आदि पितृदेवताले व्यवस्था गरी जुन लोकमा जे जे योनिमा प्राप्त भएपनि त्यहि त्यहिमा खान हुने गरेर वस्तुहरुको निर्माण गरिएको छ । त्यसकारण पितृहरु लाई तृप्ति गराउनु अनिवार्य छ । आफुले गरेको शुभ कर्मको पुण्यले मातापितादेवले योनिमा प्राप्त भए वस्तु, चिज र अन्न प्राप्त हुन्छ ।

गन्धर्व योनिमा प्राप्त भएको भए वस्तुमा परिणत हुन्छ । पशुयोनिमा गएको भए उत्तमघाँस हुन्छ । नागयोनिमा भए वायु रुपमा परिणत हुन्छ । पंक्षियोनिमा भए पानको पातमा परिणत हुन्छ । राक्षस योनिमा भए आमिष वस्तु रहन्छ । यदि मनुष्य योनीमा भए नाना प्रकारका अन्नपानिमा परिणत हुन्छ । जसको कारण मातापिताले उपभोग गर्न पाउँदछन् । त्यसकारण छोराबुहारी र छोरीहरुले घमन्डरुपी राक्षसी प्रवृतिको व्यवहार देखाउने काम गर्न हुदैन । त्यसकारण यसरी श्रद्धापूर्वक श्राद्धको काम गर्न राम्रो मानिन्छ । यसको कारण पितृ र कर्ता एवम् छोराबुहारी सबैको कल्याण हुन्छ । देवता लाई भाव भए मात्र हुन्छ तर पितृलाई शुद्द मन्त्र तथा वाक्य चाहिन्छ । त्यसकारण शुद्द मन्त्र उच्चारण सहित श्राद्ध गर्ने । श्राद्धमा छोरीको छोरा वा भान्जाप्रतिको श्राद्धको महिमा लाई निकै महत्व मानिन्छ । श्राद्धको दिनमा भान्जा लाई अनिवार्य बोलाउने काम गर्ने । एक वर्षमा पर्ने यो कर्म पितृको समरण तथा सम्झना राखेर तर्पण, अन्नदान, पिण्डदान, ब्रहमण भोजन गराउने काम भएन भने छोरा भएर पैतृक सम्पति खाएको पनि अर्थ रहदैन ।

श्राद्ध गर्ने तरिका

श्राद्ध गर्ने अघिल्लो दिन कपाल मूण्डन गरेर नुहाई स्नान गरेर एक छाक (एकछक्की) खाना खाने गरिन्छ । भोलिपल्ट आफ्नो ब्रहमण वा पुरोहित लाई बोलाएर शास्त्र अनुसार श्राद्ध गर्नु पर्दछ । श्राद्धगर्दा मूख्य दुई आधार लाई व्याख्या गरिन्छ । जसमा विहान उठेर स्नान गरेर गाईको पिसावद्धारा निर्मित पञ्चगव्य तयार गरेर ब्रहमणको वाक्यद्धारा श्राद्द भूमिमा शूद्ध कपडामा बस्ने । ब्रहमणको हातपाउ धोएर शूद्धआसनमा बसाल्ने । अनि कूशका पवित्र, मोटक लागायत टूक्रा तयार गरेर सुरु गर्ने । श्राद्ध सुरु गर्दा सुरुमा तर्पण गरिन्छ । त्यसपछि मात्र पिण्डदानको काम गरिन्छ । श्राद्ध गरेपछि ब्रहदेखि स्तम्बपर्यन्त जो सुकै पनि चराचर रहेका छन् । ति सबै मैले दिएको जलले तृप्ति प्राप्त गरुन । जे सुकै वृक्ष, लता, पहाड, स्थावर र देवता पशुपंक्षी आदिले एकबाट अर्का ठाउंमा हिडडुल गरेर हामीले दिएका तर्पण वा पानीले तृप्त रहुन ।

पितृलाई शास्त्रको विधानले श्राद्ध तर्पण गर्दा तृप्तिका साथै हामीहरु जो कर्ता हो तिनको आयु, प्रजा, धन, विद्या, स्वर्ग, मोक्ष र सुखको फलहरु प्राप्त हुने पूर्वीय दर्शनको मान्यता छ । यदि कसैले शास्त्रको विधिविधान विपरित श्राद्ध र तर्पण गर्दछ भने पितृहरुका लागि सो पिण्डजल मिल्दैन । श्राद्ध र उनीहरुमा सन्तान लाई पनि श्रेय रहदैन । त्यसकारण विधि विधानमा रहेर मात्र श्राद्ध गर्ने कामगर्नु पर्दछ । प्रत्येक छोरा आफना आमाबाबा आमाबाट लालनपालन, शिक्षादिक्षा प्राप्त गरेका हुन्छन् । त्यसकारण पनि हामी आफना मातापिताप्रति ऋणी रहन्छौं ।

शास्त्रकानुसार छोराले यो पितृऋण अवश्य तिर्नका लागी र बाबाआमाको स्वर्गमोक्ष प्राप्ति र धर्मसंस्कारको संरक्षण गर्न पनि यो कामगर्नु पर्दछ । त्यसकारण जीवित अवस्थामा छोराले मातापिताको अन्त्य कालसम्म पनि सेवाभाव र भक्ति गरेर बुढेसकालमा पालनपोषण गर्ने काम श्रृष्टिको नियम हो । मृत्यु पछिपनि काजक्रिया दशगात्रादिको काम गर्ने, वाषिकी तिथिश्राद्ध गर्नेर्, एकवर्ष सम्म नित्यकर्म गर्ने । त्यसपछि मात्र हरेक वर्षमा मरेको पक्षको तिथिमा एकोद्दिष्टश्राद्ध र आश्विन कृष्ण पितृपक्षको पूर्णीमाको माहालयश्राद्ध गर्नु अनिवार्य छ ।

कुन श्राद्धमा के के सामग्री चाहिन्छ ?

एकोद्दिष्ट श्राद्धको सामाग्री

श्रीखण्ड चन्दन, केशरी, अक्षता, जौ, तिल, सेतो वा पहेंलो फूल, गाईको दूध, दहि, घिउ, मह, चिनी, स्मृतिसारमा बताईए अनुसार पितृलाई मनपर्ने फूलहरू अगस्ती, भृगींराज, दुबो, चाँप, तिलपुष्प, जनै दुई, सेतोबस्त्र, सिंगो सुपारी, खगौतो, विष्णुपादूका, कर्मपात्र, अर्घ, पंचपात्र, आचमनी, बालुवा, पानको पात, टक्करको फूल र पात, केरा, फलफुल, गहुँको पक्वान्न, मासको वारा, धुप, बत्ति, कपूर बत्ति, दियो बाल्न एक टपरी चामल, ब्राहमण थाप्न एक चारकुने चामल, भूस्वामी एकटपरी चामल, दुई भाग सिधा, पिण्डको लागि चामल, कालो तिल केलाएको, ४ भाग पूजा सरजामा कुशको टुक्रा धागो वटा, पवित्र दूई, औठी दुई, मोटक २०, दुना टपरी चाहिन्छ केहि चानचुन पैसा चाहिन्छ ।

पार्वण श्राद्धको सामाग्री 

गाईको पिसाव, गोबर, पहेंलो केशरी,, तिल, जौं, दही, फलफुल, कर्मपात्रोको भाँडो, तिलानी दिने भाँडो, पूजाको सरजाम भाग ४, दियो बाल्न १ टपरी चामल, ५ भाग कएमा ब्राह्मण, कुशको टुक्रा ७०, मोटक १००, औठी दुई, धूपवत्ती, मूलवत्ती, तिनसुतेबत्ती, कर्मपात्र २, अर्घ १, खगौतो १, विष्णु पादुका, जनै ६, अथवा सुपारी ५, पञ्चपात्र आचमनी, बालुवा, पानको पात, फलफूल, केरा, गहुको पक्वान्न, मासको वारा, ५ भाग सिधा, एकटपरी दियो लागी चामल, ४ टपरी ऋषिको लागी चामल, भूस्वामी एकटपरी चामल, पिण्डको लागि चामल, सेतो नाको पिण्ड बस्त्र, कपूरबत्ती, चन्दन, केशरी अक्षता, जौ, तिल, सेतो पहेलो छ। फूल, गाईको दूध, दहि, ध्यू, मह, चिनी, स्मृति सारमा बताइए अनुसार माला पितृलाई मनपर्ने फूलहरू दुबो, टक्करको फूल र पात, पूजाको सरजाम भाग ४, दियो बाल्न १ टपरी चामल, दुई ब्राह्मणलाई दुई चारकुने चामल, कुशको टुक्रा ६०, औंठी दुई, मोटक ५० आदि ।

एक पार्वणा श्राद्धको सामग्री भाग ४, दियो बाल्न १ टपरी चामल, दुई ब्राह्मणलाई दुई चारकुने चामल, कुशको टुक्रा ६०, औठी दुई, मोटक ५० गोटा, गुरु, शिष्य, हितकारक, बन्धु आदि मान्यजन लाई दिने ।

निष्कर्ष

अन्य देशमा पनि पितृको सम्झना गर्ने प्रचलन भएको सुनिन्छ । नामगोत्र मन्त्र आदिको सहाराले परलोकमा पुत्रादिले श्रद्धाभक्ति विश्वास पूर्वक अर्पण गरेका हव्यकव्य आदि अग्निष्वाता पितृदेवताहरूले व्यवस्था गरी जुन जुन लोकमा जुन जुन योनिमा प्राप्त भएपनि त्यही त्यहीमा खाना हुने वस्तुमा परिणत प्राप्त गराइ पितृहरूलाई तृप्त गराइ दिन्छन् । अन्तरआत्माको विकास कार्यक्रमको सुरुमा पितृहरूलाई सम्झेर प्रार्थना गर्दछन् । त्यस्तै जलको पूर्ण कलश फूल पितृ वंशावली राखे प्रत्येक दिन विहाना पितृहरूलाई सम्झन्छन् । यस किसिमबाट जापानीहरू मान्छन् । तसर्थ हामी सनातन हिन्दू धर्मावलम्बीहरूले हाम्रो एक वर्ष पितृको १ दिन भएको र सबै पितृको सम्झना राखेर आश्विनमा र मृत तिथिमा हामीहरूले तर्पण, पिण्डदान, ब्राह्मण भोजन गराएनौ भने छोरा भएर जन्मेको सार नै के भयो र ? पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्यः स्वधायिभ्यः स्वधानमः प्रपितामहेभ्यः स्वधायिभ्यः स्वधानमः । अक्षन्न्पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्धध्वम् ।। यो श्लोक श्राद्धमा अनिवार्य ब्रहमणद्धारा पढ्नु पर्दछ । श्राद्धगर्दा समस्त मानव जगतका ॐ कार परिवारका पितृहरुले यो समयमा तपाई हाम्रो कल्याण गरुन यहि मनोकामनाका साथ यो महिमाको चर्चा गरिएको छ । हामी सबैको कल्याण होस । हाम्रो रक्षाहोस । हाम्रो समाज त्यति अगाडी बढेको छैन । श्राद्धभूमिमा आफन्त, ईष्टमित्र, भाईभारद्धार, भान्जा लगायत गुरुपुरोहित र ब्रहमण भोजन नगराएर गरिएको श्राद्धको कुनै फलप्राप्त हुदैन । आजको समयमा छोराबुहारीको कर्तव्य पुरा गर्नपनि श्राद्धगरी पितृहरुको वार्षिक सम्झना गर्नु अनिवार्य छ । ॐ पितृमोक्षदाय नमस् नमोनारायणा अस्तु !

लेखक : शर्मा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको उपप्राध्यापक एवम् वैदिक धर्म परिषद नेपाल बाँकेका सचिव हुन् ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार