आमसञ्चारको विकास र साहित्यिक पत्रकारितामा उदाउँदै गरेको कोहलपुर

मान्छेले गरेका नयाँनयाँ खोज अनुसन्धान र दैनिक घटनाहरूबारे सुसूचित हुन विश्वमा दिनानुदिन आमसञ्चारको महत्व बढ्दै गइरहेको छ । आमसञ्चार शब्दको व्युत्पत्ति ‘आम’ र ‘सञ्चार’ गरी दुईवटा शब्दको योगबाट भएको छ । यसले व्यापक रूपमा सन्देश पठाउने काम भन्ने अर्थ दिन्छ । यसलाई जनाउन अङ्ग्रेजीमा ःबकक अयmmगलष्अबतष्यल शब्द प्रयोग गरिँदै आएको छ । पृथ्वीमा मानव अस्तित्वसँगै आफ्ना भावना साटासाट गर्न सञ्चारको आवश्यकता परेको देखिन्छ । सभ्यताको विकाससँगै सञ्चारको प्रविधि र तौरतरिकामा नयाँनयाँ प्रयोग हुँदै आएको हो ।

सञ्चार र पत्रकारितालाई सामान्यतया एकै अर्थमा बुझ्ने गरिएको पाइए पनि यी दुईमा केही भिन्नता अवश्यै छ । पत्रकारिता सञ्चारको एउटा महत्वपूर्ण क्षेत्र हो । हामीले पहिले पहिले परेवा, काग, बाज जस्ता चराको माध्यमबाट एक ठाउँको सूचना अर्को ठाउँ सम्प्रेषण गरेका रोचक कुराहरू सुनेका छौँ । त्यस्तै राजा महाराजाहरूले कुनै आफ्ना प्रजालाई कुनै सूचना वा आदेश दिन झ्याली पिट्नु, ढोल पिट्नु, गाउँमा सूचना सम्प्रेषणका लागि कटुवालले हाँक पार्नु आदि पनि सञ्चार अन्तर्गत पर्दछन् तर यी सबै पत्रकारिता होइनन् । पत्रकारिता पेशागत उद्देश्य र वस्तुगत सूचनामा आधारित भई गरिने सञ्चार सम्बन्धी काम हो । पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्टरनेट वेभसाइट आदिबाट सूचना सङ्कलन, सम्पादन र सम्प्रेषण गर्ने काम आम सञ्चारमा हुनेगर्दछ ।

सञ्चार प्रक्रियामा स्रोतबाट प्राप्त विषयलाई सङ्केतन गरी सन्देशका रूपमा प्रापकले ग्रहण गर्दछ र आवश्यक पृष्ठपोषण दिई त्यसमा प्रतिक्रया जनाउने गर्दछ । यसरी सूचनाको सम्प्रेषण हुन्छ । आमसञ्चारको महत्वलाई बुझी यस क्षेत्रमा क्रियाशील पत्रकारलाई राज्यको चौथो अङ्ग मान्ने गरिएको पाइन्छ । आमसञ्चार वा पत्रकारितालाई मुद्रण, प्रसारण माध्यम र इन्टरनेटमा आधारित माध्यम गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।

विश्वमा आमसञ्चारको इतिहास खोज्दै जाँदा इसापूर्व ५९ तिर पुग्न सकिन्छ । तत्कालीन रोमन सम्राट जुलिएस सिजरले सर्वसाधारणलाई सूचित गर्न ठुलो कपडाको पर्दामा राज्यका सूचनाहरू जारी गर्ने व्यवस्था मिलाएका थिए जसलाई एक्टा डिउर्ना भनिन्थ्यो । यही Acta Diurna लाई विश्वको पहिलो पत्रिका मानिन्छ । रोम राज्य रहँदासम्म कपडा वा धातुमा सार्वजनिक स्थानमा एक्टा डिउर्ना राख्ने प्रचलन थियो । यसलाई हामीले अचेल देख्ने होर्डिङ बोर्ड वा नागरिक बडापत्रका रूपमा लिन सकिन्छ । एसियामा चिनिया सभ्यता र सञ्चारको इतिहास निकै पुरानो रहेको छ ।

चिनमा सन् १७५ तिरै काठको साँचो प्रयोग गरी पुस्तक छापिएको देखिन्छ । त्यस्तै छैठौँ शताब्दीतिर त्सिङपाओ नामको हस्तलिखित पत्रिका प्रकाशित भएको सूचना पाइन्छ । इटलीका विश्वयात्री मार्कोपोलोले सन् १२९५ मा एसिया भ्रमणका क्रममा आफूले चिनमा छपाइ प्रविधिको राम्रो विकास भएको उल्लेख गरेका छन् । आधुनिक मुद्रण प्रविधि चाहिँ सन् १४४० जोहानेस गुटेनवर्गले छपाइ यन्त्र आविष्कार गरेपछि आरम्भ भएको मानिन्छ । भारतको गोवामा सन् १५५० तिर यो मुद्रण पद्धति ल्याइएको देखिन्छ । यसपछि मुद्रण मेसिनलाई थप सुविधायुक्त बनाउने अनेक प्रयासहरू भएका छन् । उन्नाइसौँ शताब्दीको अन्त्यतिर आइपुग्दा मल्टीकलर प्रेसको विकास भइसकेको देखिन्छ । प्रेसको विकाससँगै पत्रिका, अखबार र पुस्तक प्रकाशनमा पनि उल्लेख्य उपलब्धि हासिल भएको छ । नेपालमा वि.सं.१९०८ तिर बेलायत भ्रमणमा गएका जङ्गबहादुर राणाले ल्याएको हाते प्रेस (गिद्धे प्रेस) बाट छापाखानाको आरम्भ भएको देखिन्छ ।

व्यावसायिक उद्देश्यले थालिएको छापाखाना चाहिँ मोतीकृष्ण धीरेन्द्रको पाशुपत छापाखाना (१९५०) लाई मान्न सकिन्छ । यही प्रेसबाट वि.स. १९५५ मा ‘सुधासागर’ पत्रिका प्रकाशन हुनथाल्यो । यस अघि भारतको बनारसमा मोतीराम भट्टको पहलमा १९४३ मा ‘गोर्खा भारतजीवन’ नामक साहित्यिक पत्रिका प्रकाशन भएको देखिन्छ । यही नै पहिलो नेपाली पत्रिका हो । यसपछि १९५८ बैशाख २४ बाट सरकारी स्वामित्वको गोरखापत्र प्रकाशन हुन थाल्यो । समाचारमूलक पत्रिकाको विकासमा यो निकै महत्वपूर्ण मानिन्छ । गोरखापत्र सुरुमा साप्ताहिक रूपमा प्रकाशन हुन्थ्यो । १९८४ बैशाख १३ गोरखापत्रमा सानी बालिका सूर्यमती श्रेष्ठले चर्खामा धागो कात्न लागेको तस्बिर प्रकाशन भएपछि नेपाली फोटो पत्रकारिता आरम्भ भयो । नेपालभित्र र नेपाल बाहिर खासगरी भारतका विभिन्न ठाउँबाट प्रकाशन भएका सुन्दरी, माधवी, गोर्खाली, शारदा जस्ता पत्रिकाले नेपाली साहित्य, साहित्यिक पत्रकारिता र आमसञ्चारको विकासमा महत्वपूर्ण योगदान गरेको देखिन्छ ।

नेपाली भाषानुवाद परिषद, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, साझा प्रकाशन जस्ता संघ संस्थाको स्थापनाले आमसञ्चार, शिक्षा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । नेपालमा विद्युतीय सञ्चारको आरम्भ वि.सं. २००३ माघ १४ मा बिजुली अड्डाबाट प्रसारण प्रयास गरिएको नेपाल ब्रोडकास्टिङ नामको रेडियोबाट भएको हो । यसपछि २००७ मङ्सिर २९ मा भोजपुरमा र माघ २० गते विराटनगरमा रेडियो प्रसारण भएको देखिन्छ । विराटनगरको प्रजातन्त्र रेडियोलाई २००७ चैत २० गते देखि काठमाडौँमा ल्याई रेडियो नेपालको नाममा प्रसारण गर्न थालिएको पाइन्छ । प्रजातन्त्र स्थापनापछि नेपालमा रेडियो, एफ.एम.को प्रशस्त विकास भएको हो । नेपाल टेलिभिजनको स्थापना २०४१ मघ १७ गते भई २०४२ पुस १४ देखि औपचारिक प्रसारण सुरुभयो । पञ्चायती व्यवस्थाले नेपालमा आमसञ्चारमा सेन्सर गरेका कारण स्वतन्त्र पत्रकारिताको खासै विकास हुन सकेन ।

२०४६ को जनआन्दोलनको उपलब्धि स्वरूप प्रजातन्त्रको पुनस्र्थापना भएपछि भने देशका विभिन्न सहरमा पत्रपत्रिका, रेडियो, एफ. एम., निजी सञ्चारगृह, टेलिभिजन आदिको राम्रो विकास भएको देखिन्छ । नेपालमा द्वन्द्वकालमा आमसञ्चार र पत्रकारिताको महत्व निकै बढे पनि यस क्षेत्रमा लाग्ने पत्रकार र सञ्चारकर्मी निकै जोखिममा परेको देखिन्छ । यस अवधिमा थुप्रै सञ्चार संस्था बन्द हुन पुगे । गणतन्त्रको स्थापनासँगै नयाँ सञ्चार संस्था र पहिले बन्द भएका पत्रपत्रिका र संस्थाहरू पुनः सञ्चालनमा आउन थाले । नेपालमा हाल राष्ट्रिय स्तरका थुप्रै सञ्चार माध्यमहरू सक्रिय रहेका छन् । अनलाइन पत्रकारिता र सामाजिक सञ्जालको बढ्दो प्रयोगले आम सर्वसाधारणलाई सूचनाको सहज पहुँचमा पुग्न सहयोग पुगेको छ ।

कोहलपुर विकासमा उदीयमान सहर हो । यो सहर लुम्बिनी प्रदेशलाई कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशसँग जोड्ने ट्रान्जिट पोइन्टका रूपमा अवस्थित छ । कोहलपुरको सञ्चारको विकासलाई हेर्दा त्यति लामो इतिहास पाइँदैन । यहाँको आमसञ्चारको इतिहास हेर्दा वि.सं २०४८ मा स्थापित वागेश्वरी क्याम्पसमा २०५० पछि पत्रकारिता विषयको पठनपाठन हुन थालेको देखिन्छ । यस क्याम्पसबाट हाल अनुसन्धानमूलक पत्रिका वागेश्वरी जर्नन प्रकाशित हुँदै आएको छ । यस्तै नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रीय प्रसारण सुरु हुनु ज्यादै महत्वपूर्ण मानिन्छ । द्वन्द्वकालमा बन्दभएको यसको पुनः सञ्चालन र प्रशारण २०७४ बैशाख १ गतेदेखि हुँदै आएको छ । धर्म केसी, सागर गैरे लगायतका साहित्यप्रेमी व्यक्तिहरूको पहलमा २०५७ मा पूर्णिमा साहित्य समाजको स्थापना भई नियमित रुपमा पूर्णिमा साहित्यिक पत्रिका प्रकाशन भएसँगै यहाँको साहित्यिक पत्रकारिताले गति लिएको देखिन्छ ।

वि.सं. २०६८ देखि पूर्णिमा साहित्य प्रतिष्ठानको रूपमा क्रियासिल यो सँस्थाले पत्रिकाका साथै दर्जनौँ साहित्यिक पुस्तक प्रकाशन गरी योगदान दिँदै आएको छ । कोहलपुरको पहिलो समाचारमूलक पत्रिका साप्ताहिक कोहलपुर वि.सं. २०६० मा यम रावतको पहलमा सुरु भएको देखिन्छ । यसपछि विष्णुप्रसाद बेल्बासेको साप्ताहिक कोहलपुर टाइम्स (२०६३) प्रकाशन हुन थाल्यो ।

कोहलपुरमा थुपै पत्रिका प्रकाशनमा आउनु सुखद पक्ष हो भने नियमित हुन नसक्नु विडम्बना पनि हो । कोहलपुरमा पछिल्लो समयमा नियमित प्रकाशन भई धेरै क्षेत्रमा पुगेको पत्रिका मिसन टुडे दैनिक रहेको छ । विनोद पौडेलको नेतृत्वमा मिसन एफ. एम., छापाखाना सञ्चालन भएको देखिन्छ । यहाँबाट प्रकाशित अन्य उल्लेखनीय पत्रिकामा पिपलबोट, न्युज नमस्ते, मार्गरेखा, नमस्ते कर्णाली आदि रहेका छन् । पछिल्लो समयमा गोरखापत्र, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका जस्ता स्थापित पत्रिकाले कोहलपुरबाट पनि प्रकाशन संस्करण निकाल्नुले यहाँको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुगेको छ । यहाँका कोहलपुर एफ.एम, रेडियो मिसन, रेडियो प्रतिबोध, कोहलपुर टेलिभिजन यहाँ सञ्चालित विभिन्न प्रिन्टिङ प्रेस आदिको पनि महत्वपूर्ण स्थान रहेको छ ।

पछिल्लो समयमा कोहलपुरमा अनलाइन पत्रकारिता निकै लोकप्रिय बनेको देखिन्छ । अनलाइन मिडिया खोल्ने एक किसिमको होडले यही कुरालाई देखाउँछ । कतिपय अनलाइन पत्रिका नियमित प्रकाशन भई लोकप्रिय पनि बनेका छन् । यसैको एउटा उदाहरण कोहलपुर टुडे लोकप्रिय बन्दै छ । यसका दक्ष संवाददाता, सम्पादक र प्रकाशकको टिम हेर्दा भविष्य सुन्दर नै देखिन्छ । कति पत्रिका भने एक वर्ष पनि टिक्न सकेको देखिँदैन । पत्रकारितालाई दिगो र लोकप्रिय बनाउन पत्रकारलाई तालिम र पत्रकारिताका आधारभूत प्रविधिको ज्ञान हुनुपर्दछ । यस्तै पेशाप्रति इमानदार हुनु जरुरी छ ।

यसका लागि आफै फिल्डमा पुगी तथ्य सङ्कलन गर्ने, सम्पादनमा ध्यान दिने, मिहिनत गर्ने र समाज र विश्व घटनाको अद्यावधिक गर्ने बानी बसाल्नुपर्छ । पितपत्रकारिताबाट केही लाभ लिन खोज्नुहुँदैन । त्यो टिक्न सक्दैन । त्यस्तै पत्रकार र अन्य जनशक्तिलाई दिने पारिश्रमिक, पत्रिका वा सञ्चार संस्था चलाउन लाग्ने आर्थिक भार बहन गर्ने स्रोतको सुनिश्चतता हुनुपर्दछ । त्यसो गर्न सके कोहलपुरमा उदाउँदै गरेको अखबारी र साहित्यिक पत्रकारितालाई सुन्दर कोहलपुरको भविष्य र परिचयसँग पनि जोड्न सकिन्छ ।