अहिलेसम्म मेरो नाममा पक्राउ पुर्जी जारी भएको छैन : रवि लामिछाने

गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि आइतबार राति नै पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता-कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले आफूलाई निरन्तर खेद्ने र लखेट्ने कोसिस भइरहेको बताएका छन्।

पार्टी पदाधिकारीहरूसँग छलफलपछि राति १० बजेतिर नेता-कार्यकर्तालाई सम्बोधन गर्न थालेका सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको भनी छानबिन समितिले प्रतिवेदन दिए पनि सरकारले ‘ट्रायल’ गर्न खोजेको आरोप लगाए।

‘मैले बुझेअनुसार अहिलेसम्म मेरो नाममा पक्राउ पुर्जी जारी भएको छैन, तर ढुक्क हुने स्थिति छैन,’ उनले भने, ‘सरकार ट्रायल गर्न खोजिरहेको छ। अनुसन्धानको कुन कसीमा उभिनुपर्छ, कहाँ सघाउनुपर्छ म तयार छु, तर एउटा मानिसलाई जसरी निरन्तर लखेट्ने र खेद्ने काम भइरहेको छ, त्यसको प्रतिवाद हुन्छ।’

‘वर्षौंदेखि राजनीति गरिरहेका दलहरू एउटा मानिसदेखि डराएको सुहाएन। डराएर धरपकड गर्ने कोसिस गरेको सुहाएन। यसले सरकार अधिनायकवादतिर जाँदैछ कि भन्ने संकेत देखिएको छ। हामी तयार भएर बसेका छौं। म हिजो पनि अन्यायको सिकार भएको हुँ। आज पनि निरन्तर घेरबन्दीमा छु। मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन,’ उनले भने।

उनले अगाडि भने, ‘केही वर्षअघि मलाई मध्यरात बुट बजारेर पक्राउ गरिएको थियो। त्यति बेलादेखि मलाई अन्यायमा पारिएको छ। राज्यसत्ता दुरूपयोग गरेर एउटा मानिसलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको छ। तर सरकारले के बिर्सेको छ भने रास्वपा अब एउटा व्यक्तिको रहेन, मेरो रहेन; यो अभियान भइसकेको छ।’

यसबीच चीन भ्रमणमा रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापतिमाथि षड्यन्त्र हुने लक्षण देखिएकाले आकस्मिक रूपमा फर्किन लागेको बताएका छन्।

‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखियो, त्यसैले तत्काल फर्किन लागेका छौं,’ भ्रमण टोलीको नेतृत्व गरेका उपसभापति वाग्लेलाई उद्धृत गर्दै रास्वपा सचिवालयले भनेको छ। टोली सोमबार आज काठमाडौं आइपुग्ने सचिवालयले जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा वाग्लेसहित १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरात चीनतर्फ उडेको थियो। चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका हुन्। उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तर्क्रिया गर्ने कार्यक्रम थियो।

भ्रमण टोलीमा उपसभापति वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ छन्।

अहिले काठमाडौं उपत्यकामा रहेका नेता-कार्यकर्ता रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा भेला भएका छन्। बागमती प्रदेश समितिका सभापति अच्युतम लामिछानेले आइतबार राति नै ह्वाट्स एपमा सन्देश पठाउँदै केन्द्रीय कार्यालय आउन निर्देशन दिएका थिए। छविलाल जोशी पक्राउ परेपछि उनीहरू सभापति लामिछानेबारे चासो राख्दै केन्द्रीय पार्टी कार्यालयमा भेला भएका हुन्।

गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

error: Content is protected !!