बारा । बारामा श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । बाराको निजगढ नगरपालिका–९ भमरा टोलमा बस्दै आएका ४५ वर्षीय बिमल कुमार बस्नेतले मंगलबार राति ७:४५ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईलाई घरेलु धारिलो हतियारले पटक पटक हात, खुट्टा र घाँटीमा प्रहार गरी हत्या गरेका हुन् । उनको उपचारको क्रममा मंगलबार राति ८ बजे र १५ मिनेटमा मृत्यु भएको हो ।
बुवा आमाको झगडा छुट्याउने क्रममा दुई छोरी समेत घाईते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । उनीहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगंज पठाईएको छ ।
प्रहरीका अनुसार घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने बिषयमा सुरु भएको झगडाले उग्ररुप लिएको थियो । शौचालयमा रहेकी श्रीमतीले घरमा जडाज गरेको इन्टरनेटमा रकम नहुँदा सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको भन्दै रिचार्ज गर्न श्रीमानलाई आग्रह गर्दा दुई जनाको भनाभन भएकाे थियाे । मदिरामा मस्त श्रीमानले नजिकै रहेको धारिलाे हतियारले शौचालयमा रहेकी श्रीमतीलाई प्रहार गरेका थिए ।
श्रीमान बिमल कुमार बस्नेतलाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । उनले भने, श्रीमतीको हत्या गर्ने बस्नेतलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भएको छ । श्रीमान् र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्