काेहलपुर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि तत्काल भौतिक पूर्वाधारमा लगानी गर्ने स्थिति राज्यसँग नरहेको बताएका छन् ।
भेरी अस्पताल नेपालगन्जको नवनिर्मित इन्डोर भवन तथा एमआरआइ सेवाको उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा राज्यको अहिलेको लगानीले संबिधानमा उल्लेख भए वमोजिम स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्था नरहेको बताए ।
उनले संबिधानमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गरेकाले सरकारले त्यसको कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘अहिलेको लगानीले संबिधानमा उल्लेख गरिएअनुसार राज्यबाट प्राप्त हुने सेवा आमनागरिकले पाएका छैनन् । तर राज्यले विस्तारै त्यसलाई कार्यान्वयनमा लगिरहेको छ ।’ उनले भने । जनशक्तिको व्यवस्थापन गर्न पनि चुनौतिपूर्ण रहेको उनको भनाई छ।
उनले भौतिक उपलब्धता, जनशक्तिको उपलब्धता र उपकरणको उपलब्धताका आधारमा गुणस्तरीय र प्रभावकारी सेवा दिन आग्रह गरे । ‘रातारात जनशक्ति थप्ने अवस्था हामीसँग छैन त्यसैले भएको पूर्वाधार र जनशक्तिबाट प्रभावकारी सेवा दिनुपर्ने आवश्यकता छ ।’ उनले भने ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अस्पतालका निमित्त मेसु डा. प्रकाश थापाले अस्पतालको सेवा प्रवाह र अवस्थाबारे जानकारी गराएका थिए ।
काेहलपुर टुडे । २५ श्रावण २०८१, शुक्रबार १६:५७