कोहलपुरमा एकैदिन एक हजार बढि रोपियो बिरुवा




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-८ मा बृहत् वृक्षारोपण गरिएको छ । साउने संङक्रान्तिको अवसर पारेर कोहलपुर ८ र ३ मा एक हजार बढी बिरुवा रोपिएको हो ।

साउने सङ्क्रान्तिको अवसर पारेर नेपाल मगर सङ्घ नगर कार्यसमिति कोहलपुरको आयोजनामा कोहलपुर ८ स्थित शीतल वन वाटिकामा आज विभिन्न प्रजातिका ८ सय बिरुवा रोपिएको सङ्घका अध्यक्ष कृष्णबहादुर पुनले जानकारी दिए ।

उनका अनुसार धुपी सल्ला, अमला, बेल, अम्बा, छतिवन, गोल्डमोर, पारिजात, कपुर, सितलचिनी लगायतका बिरुवा रोपिएको हो । हरित नगर अभियानलाई सफल पार्ने उद्देश्यका साथ वन वाटिकामा बिरुवा रोपिएको नेपाल मगर सङ्घ नगर समितिले जनाएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको कोहलपुर नगर कमिटीले ३ मा रहेको हिमालय मदरसा गरिब नवाज विद्यालयमा २ सय बिरुवा रोपिएको युवा सङ्घका नगर कमिटी अध्यक्ष मानस शाहीले बताए ।

शीतल छाया सामुदायिक वन उपभोक्ता समूह मातहत रहेको सो वन वाटिका र मदरसामा वृक्षारोपण गरिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए ।

वन वाटिकाका लागि नगरपालिकाले समेत बिरुवा उपलब्ध गराएको जनाउँदै स्थानीय सरकारले सो वन वाटिकालाई पर्यटनसँग जोड्ने गरी प्राथमिकतामा राखेको वडा नम्बर ८ का वडाध्यक्ष लाल बहादुर रानाले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन १ गते मंगलबार