कोहलपुर १ मा अभिभावक शिक्षा कार्यक्रम सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १ मा अभिभावक शिक्षा कार्यक्रम सुरु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीको सभाअध्यक्षमा अभिभावक शिक्षा कार्यक्रम आजबाट सुरु भएको हो ।

वडा अध्यक्ष जैसीले शिक्षा सुधारमा अभिभावकको भूमिका, शिक्षाको महत्व, बाल स्याहार, बाल विकास, शिक्षा र संस्कारजस्ता विषयमा अभिभावकलाई जानकारी दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरु गरेको बताए ।

‘अभिभावक केही नजान्ने हुन्छन् भनेर पढाउन सुरु गरिएको होइन,’ उनले भने, ‘स्नातकोत्तर सकेका अभिभावक पनि कक्षामा सहभागी छन्, यो शिक्षाले अभिभावकलाई जिम्मेवार बनाउन सहयोग गर्नेछ ।’

शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभई अभिभावकको पनि हुने भएकाले यो कार्यक्रम लागू गरिएको अध्यक्ष जैसीले बताए । विद्यालयमा ६ घण्टा र अभिभावकसंग १८ घण्टा हुने भएकोले घरको काम लगाउँदा व्यवाहारिक ज्ञान पाउँछन् भन्ने हाम्रो बुझाई हो त्यसैले यो कार्यक्रमको आयोजना गरेको जैसीले बताए ।

अभिभावक शिक्षा कार्यक्रमको सहजिकरण नेपाल ट्रनिङ्ग फाउन्डेशन (सिटिएफ) का प्रमुख प्रशिक्षकद्धय रवि किरण, अशोक सुवेदी प्रशिक्षक रहेका छन् । सो अभिभावक दिवस तीन दिनसम्म सञ्चालन हुनेछ ।

अभिभावक शिक्षा कार्यक्रममा कृष्ण माध्यामिक विद्यालयका सहायक प्रअ विरेन्द्र कुमार मल्ल, पूर्व प्रअ टिकाराम रेग्मी, वडा सदस्य कविराम पुलामी, गंगा विक र अम्बर बहादुर चन्द लगायत करिब २ सय ४३ जना भन्दा बढि अभिभावकहरुको सहभागिता रहेको थियो ।