‘दोहोरो करको मारमा पर्याै, एक ठाउँमा मात्र कर तिर्ने व्यवस्था मिलाइदिनुहोस्’ : ई–रिक्सा चालक

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन भइरहेका इ-अटो रिक्साहरुले दोहोरो करको मारमा परेको बताएका छन् ।

कोहलपुर नगरपालिका र यातायात कार्यालयमा अटो रिक्साहरुले दोहोरो करमा परेको अटो चालकहरुले बताउँदै आएका छन् । उता अटो चालकहरुले नगरपालिका र मजदुर संगठनहरुलाई समेत ज्ञापन पत्र बुझाइसकेका छन् ।

कोहलपुर ११ का अटो चालक रमेश घिमिरे भन्छन्, ‘अटो चलाएर घर खर्च चलाउनुपर्छ जुन दिनभरी कमाएर साँझा एक छाक खानको लागि दुःख गर्छौ, तर दोहोरो करका कारणले झन मर्कामा परेका छौं ।’

स्थानिय पालिकाले निर्माण गरेको ‘अटो तथा विद्युतिय रिक्सा सञ्चालन व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७९’ लाई पूर्ण रुपमा कार्यान्वयन गराउन उनले नगरपालिकालाइ अनुरोध समेत गरे ।

यस्तै अर्को अटो चालक कोहलपुर-११ का छत्र बहादुर राई भन्छन्, ‘अटो चालकलाई परिचय पत्र, रुट प्रमिट, जाँचपास लगायत अन्य नविकरणका कामहरु गर्न समस्या होइन तर दोहोरो कर किन तिर्ने ?’ उनले प्रश्न गरे । ‘स्थानिय तहमा निर्माण भएको कार्यविधिमा टेकेर कर तिर्छौ तर यातायात कार्यालयमा कर तिर्दैनौ,’ उनले भने, ‘त्यसको लागि नगरपालिकाले नै अगुवाईमा यसको समस्या समाधान गर्नुपर्छ ।’

यस्तै कोहलपुरका ई रिक्सा मजदुर संगठनका अध्यक्ष विनोद मल्ल भन्छन्, ‘अटो रिक्सा एउटा मजदुर हो जसले दिनभरी कमाएको साँझको छाक टार्न काम गरिरहेका छन्, उहाँहरुको समस्या सामाधान गर्न हामी तत्पर छौं ।’

‘नगरपालिकालाई ज्ञापन पत्र बुझाइसकेका छौं अब क्रमबद्ध रुपमा आन्दोलनको तयारी गर्नेछौं,’ उनले भने, ‘ई–रिक्साहरु दर्ता गरि चलाउँदा चालकहरु पनि सहज र सुरक्षित हुन्छौं त्यसकारणले दर्ता पक्रियामा लाग्ने रकम दिन तयार छौं तर हामीलाई दोहोरो कर तिर्दैनौ ।’

उता कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले निर्माण गरेको कार्यविधिलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताइन् । नेपालमा अहिले तीन तहका सरकारका छन् सोही अनुसार अटो रिक्साहरुले पनि कागजातहरु न्विकरण र दर्ता गर्नुपर्ने बताइन् ।