मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडी व्यवस्था गरेर घर पठायो

काठमाडौं ।

पैसा नहुँदा घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको थियो ।

त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई बुधबार साँझ पठाइएको उनले बताए ।

मन्त्रालयले मिटरब्याज पीडितसँग सोमबार चार बुँदे सहमति गरेको थियो । योसँगै ४२ दिनपछि मिटरब्याज पीडितको आन्दोलन टुंगिएको थियो।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनका अनुसार, सहमति भएपछि पैसा भएका पीडितहरु फर्किएका थिए । तर, झण्डै दुई सय जनाजति पैसा नहुँदा घर जान पाएका थिएनन् ।

सहमति अनुसार, पीडितको समस्याबारे जाँच गर्न नयाँ आयोग बन्दैछ । त्यसले तमसुकहरु खारेज गर्न समेत सिफारिस गर्ने सहमतिको बुँदामा उल्लेख छ ।