राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीले हुण्डी कारोबारीको अड्डामा छापा: करिब १ करोड बढी सहित ५ जना नियन्त्रण

कोहलपुर ।

बाँकेमा आज राष्ट्रिय अनुसन्धान र नेपाल प्रहरीको संयुक्त अप्रेशनले अर्को हुण्डी कारोबारीको अड्डामा छापा हानेको छ ।

राष्ट्रिय अनुसन्धानको सूचनाको आधारमा छापा मारेको बाँके प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ बसपार्क र पुष्पलाल चौक नजिक रहेको २ वटा छुट्टा छुटटै होटेलमा छापा मारेर १ करोड १५ लाख ९२ हजार ७ सय रुपैया सहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बसपार्क नजिक रहेको होटेल सन्तोष दंगालीको कोठामा बसेका नेपालगञ्ज– १४ बस्ने ३५ बर्षिय रोहीत क्षेत्री, दांग तुल्सीपुरका बताउने ४३ बर्षिय कृष्ण बिक र भारत निवासी राहुल जैसवाललाई नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक छानबीनको क्रममा निजहरुबाट स्रोत नखुलेको भारू ११ लाख र नेपाली ५७ लाख २८ हजार ७०० सहित नेपाली रुपैया ७४ लाख ८८ हजार ७ सय रुपैया फेला पारेको बताइएको छ ।
त्यसैगरि बसपार्कमै रहेको अर्को होटेल कालिका होटेलमा समेत छापा हानेको थियो ।

सो होटलबाट खोज तलास गर्दा नेपालगञ्ज–१६ जैसपुरका ५० बर्षिय सलिम जोलाह र २५ बर्षिय आसिफ अन्सारीबाट ४ लाख ४० हजार भारतिय रुपैया र ३४ लाख नेपाली गरि ४१ लाख ४ हजार फेला पारेको हो ।

नेपालगञ्जमा पछील्लो समय सुन तथा नेपालबाट जडीबुटी भारततर्फ तस्करी र भारतबाट भन्सार छलीका बिभिन्न सामानहरु आयात तथा क्यासिनोमा जुवा खेल्ने लगायतका अन्य बिभिन्न गैर–कानुनी कामहरुमा समेत हुण्डी मार्फत पैसाको कारोबार भईहेको सन्दर्भमा प्रहरीले बिभिन्न स्रोतबाट प्राप्त सूचनाको आधारमा अप्रेशन हुण्डी सञ्चालन गरेको घटना क्रमले देखाएको बाँकेका प्रहरी उपरिक्षक सुवास चन्द्र बोहराले बताए ।