जिन बैंकसंग रमाउँदै बालज्योतीका बालबालिका

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको बालज्योति माध्यामिक विद्यालयका बालबालिकाहरुलाई जैविक विविधता संरक्षणमा जोड्ने काम गरिरहेको छ । बालबालिकाको प्रयोगात्मक र सिपमुलक अभ्यास गराउने उद्देश्यले विविधता संरक्षणमा समेत योगदान रहेको प्रिन्सिपल दामोदर पौडेलले बताए ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सिर्जना सामुदायिक वन र बाल ज्योती सेकेण्डरी स्कुल बिच भएको सम्झौता बमोजिम बाल ज्योती स्कुलले करिब ७ महिना अगाडि बालज्योति फिड जिन बैंक मार्फत जैविक विविधता संरक्षण गर्दै पर्यावरण संरक्षणमा समेत टेवा पुर्याउँदै आएको छ ।

विद्यार्थीहरुको मेहनतमा संचालन गरिएको वालज्योती फिल्ड जिन बैंकका रुपमा सिर्जना सामुदायिक वनमा रोपिएका बिरुवाहरुको विद्यार्थीहरुले नै गोडमेल गरेका प्रिन्सिपल पौडेलले बताए ।

विरुवा रोप्ने, हुर्काउने र फल दिँदा समेत उनीहरुले प्रत्यक्ष अवलोकन गर्ने भएकोले रैथाने र लोपउन्मुख विरुवा संरक्षण गर्नु हाम्रो दायित्व नभूलुन भन्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रमलाई लागू गरेको पौडेलले बताए ।

यस्तै बालबालिकालाई बनजंगलमा हुने विरुवाका बारेमा जानकारी दिने, रैथाने विरुवा, वोटविरुवाको प्रयोग र भविष्यमा यसको महत्वका बारेमा जानकारी दिँदा निकै उत्साहजन सहभागितामा ज्ञान प्राप्त गरेको सञ्चालक लक्ष्मी सुवेदीले बताइन् ।

विद्यालयका शिक्षक, बिद्यार्थी सामुदायिक वनका उपभोक्ता सहित बिरुवाको गोडमेल गर्दै वालवालिकाहरुले रैथाने तथा बहुमुल्य विरुवा गरी ८० भन्दाबढि विरुवाहरुको संरक्षण गर्दै आएका छन् ।

एक विद्यार्थी एक विरुवा हुर्काउने जिम्मा दिईएको भन्दै प्रिन्सिपल पौडेलले हुर्किएका विरुवाका फलहरुले जंगलि जनावर र चराहरुलाई समेत आहारा हुने र वाँदर गाउ पसेर वालिनाली नष्ट गर्नबाट समेत रोक्न सहयोग पुग्नेछ ।