एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैन: प्रदीप ज्ञवाली

काठमाडौँ ।

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रूपमा चित्रण गरिरहेका बेला उनले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त समेत प्रस्तुत गरे । उनले अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकता लगायतका विषयमा कुनै पनि छलफल नभएको बताए ।

उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको सङ्कट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए ।

उपमहासचिव ज्ञवालीले एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको पनि बताए ।