पत्रकार मनऋषि धितालले खेलेका जनयुद्धकालीन पुस्तकमाथि नेपालगन्जमा संवाद

कोहलपुर ।

पत्रकार मनऋषि धितालले लेखेका जनयुद्धकालीन आधा दर्जनबढी पुस्तकमाथि नेपालगन्जमा संवाद गरिएको छ । पत्रकार धितालले लेखेका जनयुद्धकालीन डायरीमा समावेश गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्ग यात्रा र गण्डक यात्रा पुस्तकमाथि बुधवार नेपालगन्जमा संवाद गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पिटरले गण्डक यात्रा, साहित्यकार लेख प्याकुरेलले राजमार्ग यात्रा, पत्रकार तुला अधिकारीले जेलयात्रा, राजनीतिकर्मी दुर्गाबहादुर चौधरीले पिलीयात्रा, साहित्यकार शशिराम कार्कीले गुफा प्रेसका चिठी, प्राध्यापक तथा साहित्यकार खोपीराम ओलीले बेनीयात्रा, पत्रकार शंकर खनालले आधारयात्रा पुस्तकमाथि टिप्पणी गरेका थिए ।

साहित्यकार खोपीराम ओलीले पुस्तकमा जनयुद्धकालीन समयको अवस्था परिस्थति जस्ताको तस्तै उतारिएको बताए । उनले पुस्तक पढ्ने पाठक आफैँ जनयुद्धमा सहभागी भएको प्रत्यक्ष अनुभूती गराउन सफल रहेको बताए । पुस्तकभित्र वास्तविक अनुभूति, रोदन, कौतुहलता तथा रोदन समोवश गरिएको बताए ।

साहित्यकार लेख प्याकुरेलले पुस्तक उपयुक्त कृति बन्न सफल भएको बताए । उनले पुस्तकका पात्रहरु रहर, कहर र अवसर सबै प्रकारले जोडिएको भन्दै उक्त समयमा घटेका वास्तविक घटनालाई यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएको बताए । उनले जनयुद्धकालीन विवाहमा एउटा कापी, कलम र किताब उपहार दिएर सम्पन्न भएको इतिहास स्मरण गरिएको भन्दै अहिलेका विवाहमा गरिने भड्किलो खर्च कटौती गरी सोही अनुसार गर्न पनि किताब शिक्षाप्रद हुने बताए ।

पत्रकार शंकर खनालले पुस्तकले इतिहास जोगाउन सफल रहेको बताए । उनले दसकौं अगाडीको जनयुद्धलाई अहिलेका पुस्ताले ताजा रुपले बुझ्न पाएको धारणा राखे ।

पत्रकार तुला अधिकारीले तत्कालीन जेलभित्रका घटनाहरु अहिलेका पाठकहरुले जेलको अनुहार दुरुस्तै देख्न सक्ने बताए । राजनीतिकर्मी दुर्गाबहादुर थारुले यी पुस्तकहरु पढ्दा आफूलाई पनि विगत सम्झना आएको र लेख्नका लागि प्रोत्साहन तथा उत्प्रेरणा मिलेको बताए ।

वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पीटरले पुस्तक अणु तथा परमाणु भएको बताए । उनले पुस्तकमा युद्धनीतिक, राजनीतिक तथा दार्शनिकरुपमा इतिहास बोलेको बताए ।

वरिष्ठ पत्रकार तथा विश्लेषक नरेन्द्रजङ्ग पीटरले पुस्तक अणु तथा परमाणु भएको बताए । उनले पुस्तकमा युद्धनीतिक, राजनीतिक तथा दार्शनिकरुपमा इतिहास बोलेको बताए ।

पुस्तकका लेखक पत्रकार मनऋषि धितालले आफू केवल जनयुद्धका अनुभूती बाँड्ने हुलाकी भएको बताए । पुस्तकहरु कल्पना नगरी वास्तविक रुपले तथ्यका आधारमा लेखिएको भन्दै धितालले कतिपय पुस्तकका पात्रहरुसँग पुनर्मिलन समेत भएको स्मरण गरे ।

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वरजङ्ग गहतराज ‘अथक’ले जनयुद्धका बलमा देशमा राजनीतिक परिवर्तन आएको बताए । समावेशीता, धर्म निरपेक्षता, संघीयता, समानुपातिक लगायतका व्यवस्थाहरु जनयुद्धका कारण आएको भन्दै १० वर्षे जनयुद्धलाई अहिलेका पुस्ताले पुस्तकमार्फत् जस्ताको तस्तै अनुभूति गर्न सक्ने बताए ।

कार्यक्रममा बरिष्ठ पत्रकार जे पाण्डे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा समिक्षक शशिराम कार्की, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’, नेकपाका पोलिटव्यूरो सदस्य बन्धु ‘सी’ लगायतले पुस्तकमाथि चर्चा गरेका थिए ।