आजको मौसम : सुदुरपश्चिम प्रदेश सहित ३ प्रदेशमा हल्का वर्षा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण यतिबेला देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङ् सहित हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भुभागका एक/दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।