कोहलपुर डेरी एशोसियसनले बुझायो ज्ञापनपत्र

कोहलपुर ।

कोहलपुर डेरी एशोसियसनले विगत लामोसमयदेखि संस्थागत रुपमा कारोबार हुँदै आएपनि व्यवस्थित नहुँदा समस्या भएको भन्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीलाई कोहलपुर डेरी एशोसियसनका अध्यक्ष रमिला थापा र महासचिव सन्तोषराज पौडेलले ज्ञापन पत्र बुझाएका हुन् ।

कोहलपुर डेरी एशोसियसनका अध्यक्ष रमिला थापा र महासचिव सन्तोषराज पौडेलको हस्ताक्षरित ज्ञापनपत्रमा १० बुँदे माग सहित आफ्ना मागहरु पुरा नभए आन्दोलनमा जाने चेतावनी दिएका थिए ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ज्ञापन पत्र बुझ्दै सबै मागहरु जायज भएको भन्दै केही दिनमा पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्ता छन्, मागहरु

  • नेपाल सरकारको स्वामित्वमा रहेको नेपालगन्ज दुग्ध विकास संस्थानको जग्गामा पाउडर प्लान्ट तत्काल बनाउन पहल गर्ने ।
  • दुध तथा दुग्धजन्य पदार्थहरु सरकारी निकाय, सुरक्षाकर्मी र विद्यालयमा खुवाउने व्यवस्था गर्ने ।
  • दुध उत्पादन गर्ने, किसान तथा प्रशोधन गर्ने निकायलाई छिटो छरितो अनुदानको व्यवस्था गर्ने ।
  • भारतबाट आउने दुग्धजन्य पदार्थहरु जस्तै दुध, खुवा, पनिर, बटर मिल्क, धुलो दुध पाउडर लगायतका बस्तुहरुलाई आजका मितिबाट बन्द गर्ने ।
  • दुध तथा दुधजन्य पदार्थहरु खुल्ला रुपमा विना दर्ता गुणस्तरहिन दुध विक्रि वितरण भइरहेको हुँदा सो को छानविन गरी बन्द गर्ने ।
  • किसानका गाई, भैसीको बिमा र उपचारमा लाग्ने औषधी खर्च सरकारले निःशुल्क उपलब्ध गराउने ।
  • नेपाल सरकारबाट उत्पादीत पशु आहार गुणस्तरीय बनाई किसानलाई सरकारले ५०% अनुदानमा दिने व्यवस्था गर्ने साथै डि.डि.सी बाट उत्पादीत दुधजन्य सामाग्रीहरु नेपालको जुनसुकै ठाँउमा भण्डारण को व्यवस्था गर्ने पहल गर्ने ।
  • मिल्क होलिडे बन्द गरि सहज तरिकाले किसानको दुध किन्ने र भुक्तानी व्यवस्थापन गर्ने ।
  • नेपाल सरकारको स्वामित्व रहेको डि.डि.सी तथा डेरी उद्योगहरुले दिनुपर्ने किसानको ६ अर्व करिव वक्यौता रकम तत्काल निकासा गरि किसानलाई भुक्तानी दिने व्यवस्था गर्ने ।
  • नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगतमा नेपालको दुध तथा दुग्धजन्य पदार्थको बजारीकरणको लागि बातावरण बनाउन सहकारी स्तरबाट तुरुन्त पहल गर्ने ।