सुर्खेतमा गोलीकाण्ड : भारतीय सुटर समेत संलग्न, ४ जना पक्राउ

सुर्खेत ।

वीरेन्द्रनगरमा शनिबार राति गोली चलेको थियो । वीरेन्द्रनगर नगरपालिका –१ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।

वीरेन्द्रनगरकै स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ ।

घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका उनले बताए । उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा भारतीय सुटर पनि संलग्न छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।