दाङमा एक प्रहरीले ड्युटीमा रहेकी आफ्नै श्रीमतीलाई गोली हानी हत्या

दाङ ।

दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्।

घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई बाँकेको नेपालगञ्जमा कार्यरत उनका श्रीमान यमबहादुर झाक्रीले साढे ८ बजेतिर गोली हानेर हत्या गरेको प्रजिअ सुवेदीले बताए।

यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

केही दिनपहिले मात्रै दाङको घोराहीमै कार्यरत अर्का एक प्रहरीले आफ्नी श्रीमती र नाबालक छोराको हत्या गरेका थिए । हत्यापछि उनी आफैं प्रहरीकहाँ पुगेका थिए ।