प्रधानमन्त्री कप फाइनलमा आर्मीविरुद्ध पुलिसको सानदार सुरुआत

काठमाडौं ।

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरिरहेको पुलिसले आर्मीलाई सुरुआतमै दबाबमा राखेको छ ।

पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ११ ओभरमै ४ विकेट गुमाउँदै मात्र ३० रन बनाएर खेलिरहेको छ ।

आर्मीका कुशल मल्ल र इमरान शेख क्रिजमा छन् ।

चोभार एन्डबाट आएका स्पिनर ललितनारायण राजवंशीले शीर्ष तीन ब्याटरलाई आउट गरेका थिए ।

पाँचौं ओभरको पहिलो बलमा ललितले सन्तोष कार्कीलाई ६ रनमा बोल्ड आउट गरे । स्पिन सहयोगी पिच र बिहानको कन्डिसन ललितले भरपूर्ण फाइदा उठाए ।

भीम सार्कीलाई अर्को ओभरमा ५ रनमा एलबीडब्लू आउट गरे । सातौं ओभरको अन्तिम बलमा सन्दीप रजालीलाई ललितले शून्यमा बोल्ड आउट गरेपछि आर्मी ७ ओभरमा १९–३ को अवस्थामा पुगेको थियो ।

दशौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डारी २ रनमा कट एन्ड बोल्ड आउट भए । करण केसीको बलमा उनी क्याच आउट भएका थिए ।

पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो । आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।