कोहलपुरका विद्यालयमा ३ दिन जाडो विदा

कोहलपुर ।

अत्यधिक चिसो बढेपछि कोहलपुर नगरपालिकाले पनि नगरक्षेत्रका विद्यालयमा जाडो विदा दिएको छ । भोलि सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि विद्यालय बन्द गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलक राज ढकालले जानकारी दिए ।

नगरपालिकाका कार्यबहाक नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा आज बसेको बैठकले मौसम प्रतिकूलताका कारण पठनपाठन स्थगित गर्ने गराउने निर्णय गरेको पनि प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । कोहलपुर नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालय सबैमा जाडो विदा लागू हुनेछ ।

बैठकमा नगर स्तरीय शिक्षक महासंघ, नगर स्तरीय प्याब्सन, एन–व्याब्सन र क्रिसाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अत्यधिक चिसोका कारण बाँकेका अन्य सबै पालिकाले विद्यालयमा जाडो विदा दिएका छन् । बाँकेमा करिव दुई सातादेखि घाम लागेको छैन ।