स्वास्थ्य शिविरबाट ३ सय ९९ जना जेष्ठ नागरिक लाभान्वित

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं.११ मा जेष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविर गरिएको छ । कोहलपुर नगरपालिका वडा नं.११ को वडा कार्यालयको आयोजना तथा नगर स्वास्थ्य शाखा, नगर अस्पतालको समन्वयमा आइतवार आयोजना गरिएको शिविरमा ३ सय ९९ जनाले सेवा लिएको अस्पतालका ल्याव इन्चार्ज दीपक शर्माले जानकारी दिए ।

उहाँका अनुसार स्वास्थ्य चेकजाँच गराएकामध्ये ६५ जनाको रक्त परीक्षण समेत गरिएको थियो । सुगर, युरिक एसिड (बाथरोग) र सिविसी को निशुल्क चेकजाँच गरिएको उक्त शिविरमा औषधी खानुपर्ने आवश्यकता भएका बिरामीलाई औषधी समेत निशुल्क प्रदान गरिएको शर्माले बताए ।

शिविर प्रबुद्ध जेष्ठ नागरिक मञ्चको भवनमा आयोजना गरिएको थियो । जहाँ जेष्ठ नागरिकहरु भेला भएर एकआपसमा सुखदुख साटासाट गर्छन् । ‘विशेषगरी यो शिविर जेष्ठ नागरिकलाई लक्षित गरेर आयोजना गरिएको थियो उनले भने–‘आफुहरु बसेकै स्थानमा सेवा लिन पाउँदा जेष्ठ नागरिकहरु अत्यन्तै खुसी र सहज महसुस गरेको पाइयो ।’ जेष्ठ नागरिकहरुको रगतमा युरिक एसिड, मधुमेह, रगतमा हुने हेमोग्लोविनको मात्रा लगायतका ९ प्रकारका ल्याव सम्वन्धी सेवाहरु शिविरमा प्रदान गरिएको पनि उनले बताए ।

शिविरमा खटिएका स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकहरुलाई उनीहरुको स्वास्थ्य चेकजाँचसँगै परामर्श सेवा समेत प्रदान गरेका थिए । सामान्यतया जेष्ठ नागरिकमा हुन सक्ने सम्भावित स्वास्थ्य जोखिम रक्तचाप, श्वासप्रश्वास, मुटुको चाल जस्ता रोगको परीक्षण गर्दै उनीहरुलाई आफ्नो स्वास्थ्यलाई निरोगी राख्ने उपायबारे स्वास्थ्यकर्मीले परामर्श दिएको वडाअध्यक्ष कल्पना अधिकारीले जानकारी दिए ।

यस्ता शिविरले जेष्ठ नागरिकमा देखा पर्ने समस्याको पहिचान गर्न र प्रारम्भिक चरणको उपचारमा सहजता थपिने नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकले बताए । शिविरमा नगर अस्पतालका प्रमुख डा.रवि शर्मा वाग्ले, नगर स्वास्थ्य प्रबर्धन केन्द्र अकलघरुवाका प्रमुख डा.सन्तोष थारु, सिकलसेल ल्याव प्रमुख शिव गौतम, ल्याव इन्चार्ज शर्मा, स्वास्थ्यकर्मीहरु युवराज पोख्रेल, राजकुमार थारु, नरेन्द्र क्षेत्री लगायतले बिरामीको स्वास्थ्य चेकजाँच गरेका थिए ।