कोहलपुरमा स्तन क्यान्सर, आङ खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर

कोहलपुर । 

कोहलपुर नगरपालिका वडा नं.११ मा रहेकाे बागेश्वरी वहुमुखि क्याम्पसमा स्तन क्यान्सर ,आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धी शिविर गरिएको छ । उक्त शिविरमा २०७ जनाले सेवा लिएका थिए ।

त्यसमा पाँच जनामा भिआइए पोजेटिभ देखिएको पाइएको छ । कोहलपुर नगरपालिका वडा नं.११ को आयोजना, कोहलपुर नगरपालिका स्वास्थ्य शाखा र नगर अस्पतालको समन्वय तथा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको सहजीकरणमा शिविर आयोजना गरिएको नगर अस्पतालका प्रमुख डा.रवि शर्मा वाग्लेले जानकारी दिए । उनका अनुसार शिविरमा क्यान्सर अस्पतालको विज्ञ चिकित्सकको टोलिले बिरामीहरुको स्वास्थ्य चेकजाँच गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा.निरज भट्टराईको नेतृत्वको टोलि शिविरमा खटिएको थियो । मेडिकल अंकोलोजिष्ट डा.साजन थापा, युरोअंकोसर्जन डा.विपिन गुरागाइँ, क्लिनिक अंकोलोजिष्ट डा.मुकेश यादव, पेडियाट्रिक अंकोलोजिष्ट डा.सुवास मेहता, गाइनेकोलोजिष्ट डा.अमिरुन निशा, मेडिकल अधिकृत डा.चिरञ्जीवि चालिसे,स्टाफ नर्सहरु दिक्षारोशनी पुन, एलिना केसी र सिम्रन श्रेष्ठ, लेखा अधिकृत खड्क बहादुर शाही र सहयोगी विनिता खड्का खत्री सुशिल कोइराला क्यान्सर अस्पतालबाट शिविरमा खटिएनु भएको थियो ।

त्यसैगरी स्वास्थ्य शाखा तथा नगर अस्पतालबाट डा.रवि शर्मा वाग्लेको नेतृत्वमा सिकलसेल ल्याव प्रमुख शिव गौतम, नगर अस्पतालका ल्याव इन्चार्ज दिपक शर्मा, स्वास्थ्यकर्मीहरु राजकुमार थारु र नरेन्द्र थापा खटिएका थिए ।

महिलाहरुमा पाठेघरको मुख र स्तन क्यान्सरको पहिचानगरी तत्काल उपचारमा सहजताहोस् भन्ने उद्देश्यले आयोजित शिविर निकै उपयोगी र फलदायी बनेको वडाअध्यक्ष कल्पना अधिकारीले बताए । उनले अझैपनि महिलाहरु लाज र डरका कारण आङ खस्ने समस्या लुकाएर बस्ने गरेको भन्दै ती महिलाहरुलाई लक्षित गरेर वडामै शिविर गरिएको बताए । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विश्वकर्माले आफ्नो स्वास्थ्यबारे महिलाहरु सचेत बन्नुपर्ने बताए । कोहलपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै उनले वडा स्तरमा आयोजना गरिने यस्ता शिविरले स्वास्थ्यमा पहुँच नपुगेका महिलालाई ठूलो राहात दिने उल्लेख गरे ।